लकडाउनमा पशुपक्षी भोकभोकै

admin

काठमाडौँ, चैत २३: लकडाउनमा यतिबेला अधिकांश मानिस आफ्नो परिवारका साथ घरभित्रै छन् । कोरोना भाइरस (कोभिड–१९) बाट बच्न घर बस्दा विभिन्न परिकार बनाउने, खाने अनि रमाउने गरेको देखिन्छ । मानिस घरभित्र बसेपछि मानिसका सबै क्रियाकलाप घरमै सीमित बनेका छन् ।

बाहिर वातावरणमा हुने गतिविधि ठप्प छ । मठ मन्दिरमा पूजा बन्द छ । बजार, पसल, होटल रेस्टुरेन्ट बन्द छन्, जसका कारण परेवाले चारा खान पाएका छैनन् । कतिपयले आफ्नै घरमा भएका कुकुर बिरालालाई कोरोना सर्ने भयले थुनेर राखेका छन् ।


होटलले फ्याँकेका खानाको भरमा रहेका कुकुर, बिराला पनि भोकै छन् । पशुपति र स्वयम्भूका अनगिन्ती बाँदरको हुल भोकले घरि कता, घरि कता आँखा लगाउँदै मानिसको प्रतीक्षा गरिरहेका छन् । आकाशमा उड्ने चरा पनि मानवको गतिविधि ठप्प हुँदा सशङ्कित छन् । काठमाडौँ महानगरपालिका १० का बासिन्दा सहन शर्मा– मानिस त बोल्न सक्छन् । पीडा पर्दा आफ्ना कुरा भन्न सक्छन् । भोक लागे मागेरै खान सक्छन् तर नबोल्ने पशुपक्षी र प्राणी यतिबेला अन्योलमा छन् । सधैँ भीडभाड हुने सडक सुनसान छन् । कुकुरका हुल खानाको खोजीमा भौँतारिरहेका छन् भन्नुहुन्छ ।

प्राणी अधिकारकर्मी बिना पन्तले पृथ्वीको सृष्टि मानिसका लागि मात्र भएको होइन । सम्पूर्ण प्राणी जगत्को साझा घर पृथ्वी हो । पृथ्वीमा जति मानिसको जिउने अधिकार हुन्छ त्यति नै अन्य पशुपक्षी र जीवजन्तुको पनि हुन्छ भन्नुभयो । त्यसैले मानिसले लकडाउनमा आफ्नो र आफ्ना परिवारका बारेमा मात्र होइन अन्य जीवका बारेमा पनि सोच्न उहाँले आग्रह गर्नुभयो ।

अरू मानिस घरभित्रै बसिरहँदा उहाँ आफ्ना सहयोगीका साथ सडकमा अलपत्र परेका कुकुर, बिराला, बाँदर, परेवाका लागि चारा बाँड्दै हिँड्नुभएको छ । आफ्ना सहयोगकी साथमा उहाँ हरेक दिन सके जति स्थानमा पुगेर कुकुर लगायतका प्राणीलाई खुवाउन सक्रिय हुनुुहन्छ ।

समाजसेवी यशोदा शर्माले देशमा लकडाउन चलिरहेको छ, हामी सबै घरभित्र छौँ, घरबाहिर सडकमा धेरै कुकुर, गाईबाच्छा, बाँदर र परेवा खाना र पानीको अभावमा तड्पेर मर्ने अवस्था बनिरहेको छ, यस्तोमा सबैले सहयोग गर्नुपर्छ भनेर आग्रह गर्नुभयो ।

उहाँसहित मानव सेवा आश्रमको एक टोलीले पनि सडक र मन्दिरमा अलपत्र कुकुर र बाँदरलाई खाना बाँड्नुभयो । आफू सुरक्षित भई भरपुर सावधानी अपनाएर मानव सेवा आश्रम परिवारले थोरै भए पनि सेवाको प्रयास गरेको छ तर यति प्रयासले नपुग्ने अभियन्ता सुमन बर्ताैलाले बताउनुभयो ।

स्नेहा केयरकी अध्यक्ष स्नेहा श्रेष्ठले पनि सडकमा अलपत्र परेका प्राणीलाई खाना खुवाउँदै हिँड्नुभएको छ । उहाँको टोलीले स्वयम्भू, पशुपति र सडकमा अलपत्र परेका कुकुरका लागि टोली नै खटाएको छ । एनिमल नेपालकी अध्यक्ष प्रमदा शाह सङ्कटमा सबै प्राणीका लागि सहयोगी भावना राख्नुपर्नेमा जोड दिनुभयो ।

पशु अधिकार सम्बन्धी संस्था पेटाले पशु अधिकारकर्मी र अभिभावकलाई पशु स्वास्थ्यमा ध्यान दिँदै सुरक्षित राख्न आग्रह गरेको छ । जनावरको अनुहारमा मास्क नराख्न, जनावरलाई बन्दी बनाएर नराखी घुमफिर गर्न दिन अनुरोध गरेको छ ।

कोरोना भाइरस सङ्क्रमित व्यक्तिले जनावरलाई छुन्छ भने कोरोना भाइरस जनावरको भुवामा हुनसक्छ, यो भनेको घरको ढोकामा, रेलिङमा, अर्को मानवको हातमा वा कोरोना भाइरस सङ्क्रमित व्यक्तिले छोएको कुनै पनि सतहमा भए जस्तै हो ।

घरपालुवा जनावरका लागि आफ्ना छिमेकीलाई दाना, औषधि लगायतमा सहयोग गर्न भनिएको छ । पेटाका अन्तर्राष्ट्रिय अभियानका वरिष्ठ उपाध्यक्ष जेसन बेकरले कुकुर र बिराला हामीमाथि निर्भर छन्, सङ्कटको समयमा उनीहरूको देखभाल गर्नुपर्छ भन्नुभएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् । 

प्रतिक्रिया