विशेषज्ञ भन्छन्, लकडाउनका कारण सरुवा रोगको जोखिम घटेको छ !

admin

काठमाडौं, १८ बैशाख : कोरोना भाइरस नियन्त्रणको लागि लकडाउन चलिरहेकाले मानिस घरमै बस्दा केही सरुवा रोगको जोखिम कम भएको विशेषज्ञको भनाइ छ । घरमै स्वास्थ खानेकुरा खाने गर्नाले पनि यो बेलामा सुरु हुने टाइफाइड, झाडापखालालगायतका रोगमा कमी आउने सरुवा रोग विशेषज्ञले बताएका छन् ।

घरबाहिर निस्किएपछि बाहिरका खानेकुरा खाइँदा सरुवा रोगको जोखिम धेरै हुने भए पनि यसपालि कम भएको सरुवा रोग विशेषज्ञ शेरबहादुर पुनले बताएका छन् । तर पनि लामखुट्टेको टोकाइबाट हुने डेङ्गीलगायतबाट जोगिन भने ख्याल गर्न उनको सुझाव छ ।

एडिज इजिप्टाई जातको लामखुट्टेले डेङ्गी भएका व्यक्तिलाई टोकेर अरुलाई टोकेमा यो रोग सर्दछ । यो प्रजातिको लामखुट्टेले सफा पानीमा अण्डा पार्ने भएकाले पानी जम्ने ठाउँ, साना खाल्डामा सफा पानी धेरै दिनदेखि जमेर बसेको भए यस्ता ठाउँहरुमा सफा गर्न उनले आग्रह गरे ।

सुरुमा बिरामीहरुमा धेरै टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने, जीउ, हात दुख्ने, आँखाको गेडी दुख्ने, शरीरको मासु पूरै दुख्ने डेङ्गीको लक्षण हो । अर्का सरुवा रोग विशेषज्ञ अनुप बासतोलाका अनुसार यो रोग तीन चरणमा देखिन्छ ।

क्लासिक डेङ्गी ज्वरो, डेङ्गुगी हेमोरेजिक ज्वरो र डेङ्गुगी शक सिन्ड्रोम । क्लासिक डेङ्गी सामान्य प्रकारको डेङ्गी हो, यो आफै निको हुन्छ तर डेङ्गी हेमोरेजिक ज्वरो वा डेङ्गी शक सिन्ड्रोम भएको छ भने यसको सही र समयमै उपचार नगरे ज्यान पनि जान सक्छ ।

डेङ्गीका कारण फोक्सोमा पानी जम्ने, पेटमा पानी जम्ने, रक्तश्राव हुने, मिर्गौला खराब हुने, एक पटक डेङ्गी भइसकेको मानिसमा धेरै जोखिम हुने भएकाले बेलैमा ख्याल गर्न उनको सुझाव छ । डेङ्गीबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्नु नै मुख्य उपाय हो ।

यसका लागि घरवरपर पानी जम्ने खाल्डाखुल्डी पुर्ने, घर नजिक कुनै पनि झाडी नराख्ने, लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्नुपर्छ । लामखुट्टे धपाउने धुप वा क्रिम प्रयोग गर्ने, झ्याल ढोकामा जाली राख्ने, शरीर पूरै ढाक्ने कपडा लगाउने र सरसफाइमा ध्यान दिनुपर्नेमा डाक्टरहरुले जोड दिएका छन् ।

प्रतिक्रिया