देशभर बदलीसँगै वर्षा, काठमाडौंको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस

admin

काठमाडौं, १९ बैशाख : पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले शुक्रबार देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ । काठमाडौं उपत्यकामा शुक्रबार बिहानदेखि सिमसिम पानी परिरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले निकालेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा विगत केही दिनयतादेखि नेपालमा कायम पश्चिमी वायु र स्थानीय वायुको प्रभाव अझै सक्रिय अवस्थामै रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

हाल देशको अधिकांश भूभागमा बदली रहनुका साथै केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा भएको छ ।

दिउँसो पश्चिमी भूभागमा पूर्ण बदली तथा पूर्वी भूभागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

रातको समयमा पश्चिमी पहाडी भूभाग तथा मध्य र पुर्वी भूभागमा सामान्य बदली भई मध्य र पूर्वी भूभागको धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

शनिबार देशको पश्चिमी भूभाग तथा मध्य र पूर्वी भूभागमा सामान्य बदली रही देशको पहाडी भूभागका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको औँल्याएको छ ।

आइतबार देशको धेरैजसो स्थानमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शुक्रबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २६ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।

शनिबार सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम आठ दशमलव पाँच डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३३ दशमलव छ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया