बाँके र रुपन्देहीका सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य

admin

काठमाडौं, २१ बैशाख : रुपन्देही र बाँकेमा दुई दिनअघि कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएकाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रदेश नं ५ मा पहिलोपटक कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका रुपन्देहीको कोटहीमाई गाउँपालिका-१ पुरनिहवाका २५ वर्षीय युवकको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनलाई बुटवलस्थित कोरोना विशेष अस्पतालमा राखिएको छ ।

सङ्क्रमित युवाको अहिलेसम्मको स्वास्थ्य अवस्था सामान्य रहेको कोरोना विशेष अस्पतालका फोकल पर्सन वरिष्ठ फिजिसियन डा. सुदर्शन थापाले जानकारी दिए । उनले भने, “सङ्क्रमित युवालाई अस्पतालमा ल्याएपछि उनको अन्य स्वास्थ्य अवस्था परीक्षणपछि आइसोलेशनमा राखेर उपचार थालिएको छ ।”

सङ्क्रमित युवाको स्वाबको थप परीक्षण एक/दुई दिनमा फेरि गरिने समेत डा. थापाले जानकारी दिए । उनी पहिलेदेखि नै छारे रोगको बिरामी रहेको र नियमित औषधि सेवन गरिरहेकाले त्यसको पनि कुनै समस्या नरहेको समेत डा थापाले बताए ।

सङ्क्रमित युवा बैशाख ५ गते भारतबाट सुरक्षाकर्मीलाई छलेर ठोठरी नाकाबाट गाउँपालिकाको सीमा नाका हुँदै रुपन्देहीको कोटहीमाई गाउँपालिका आएका थिए । उनी गाउँमा आएको गाउँलेले थाहा पाएपछि युवकलाई मझगावामा रहेको क्वारेन्टाइनमा राखिएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय उनको स्वाब सङ्कलन गरी जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा पोजेटिभ देखिएपछि बुटवलस्थित आइसोलेशनमा ल्याइएको हो । यस्तै उनीसँगै सम्पर्कमा रहेका परिवार तथा अन्य आफन्त १० जनाको जनस्वास्थ्यको टोलीले स्वाबको नमूना सङ्कलन गरी परीक्षण गर्दा सबैको नेगेटिभ नतिजा आएको प्रदेश सरकार समाजिक विकास मन्त्रालय स्वास्थ्य विभाग प्रमुख डा. उमाशङ्कर चौधरीले जानकारी दिए ।

उनले सङ्क्रमित युवासँगै क्वारेन्टाइनमा रहेकाहरुमध्ये १५ जनाको पहिलो चरणमा आएको रिपोर्टमध्ये अन्य १४ र दोस्रो चरणमा अन्य १० जनाको रिपोर्ट सबै नेगेटिभ आएको डा. चौधरीले जानकारी दिए ।

“सङ्क्रमितको स्वास्थ्य अवस्था पनि सामान्य छ, उनको कोरोनाका कुनै लक्षण देखिएका छैनन, नियमित खाना खाने बोलचाल सबै सामान्य रहेको छ”, उनले भने, “अब यो केशबाट कोही पनि आत्तिनुपर्ने अवस्था देखिँदैन ।”

यस्तै कोभिड–१९ बाट सङ्क्रमित बाँकेका ६० वर्षीय वृद्धको अवस्था पनि सामान्य रहेको छ । नेपालगञ्जस्थित भेरी अस्पतालका प्रमुख डा. प्रकाशबहादुर थापाका अनुसार जिल्लाको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा स्थापना गरिएको आइसोलेशनमा राखेर उनको उपचार भइरहेको छ ।

सङ्क्रमितको अवस्था सामान्य रहेकाले कुनै ओखती दिनु नपरेको, सामान्य खाना दिने गरिएको र दुई जना चिकित्सकसहित सात जनाको स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा रहेको डा. थापाले बताए । “आइसोलेशन कक्षमा आइसियु र भेन्टेलेटर पनि छ तर सङ्क्रमित वृद्धको अवस्था सामान्य रहेकाले ओखतीमूलो दिनु परेको छैन”, डा. थापाले भने ।

उनका अनुसार, सङ्क्रमित व्यक्ति मुस्लिम समुदायको भएको र अहिले रोजाको महिनासमेत चलिरहेकाले आइसोलेशन कक्षमा उनका लागि नमाज पढ्ने व्यवस्थासमेत मिलाइएको छ । उक्त आइसोलेशन कक्षमा ६ वटा आइसियु, तीन भेन्टिलेटर र ४० वटा अक्सिजनसहित श्ययाको व्यवस्था गरिएको छ ।

सङ्क्रमितलाई घरपरिवारसँग कुराकानी गर्न सूचना प्रविधिसमेत उपलब्ध गराइएको र चिकित्सक टोलीसँग पनि बेलाबखत उनको संवाद भइरहेको डा. थापाले जानकारी दिए । “हामी आवश्यकता र तोकिएको मापदण्डअनुसार सङ्क्रमितको जाँच गर्छौं । चौबिस घण्टाभित्र गरिएको दुईपटकको जाँचमा रिपोर्ट नेगेटिभ आएमा मात्र पोजिटिभमुक्त भन्न सकिन्छ”, डा. थापाको भने ।

गत शुक्रबार बाँके नेपालगञ्ज-८ का मस्जिदका इमाम ती वृद्धको स्वाब जाँच गर्दा उनमा कोरोना पोजिटिभ देखिएपछि तत्काल आइसोलेशनमा राखेर उपचार शुरु गरिएको हो ।

प्रतिक्रिया