राहत लिन पुगेका सिराहा र पर्साका विपन्नलाई प्र*हरीको लाठी

admin

काठमाडाैं, २३ वैशाख: लकडाउनका कारण हातमुख जोड्न समस्यामा परेका सर्वसाधारणले सिराहा र पर्साका स्थानीय सरकारबाट राहत होइन, प्र*हरीको लाठी उपहार पाएका छन् । सिराहाको मिर्चैया नगरपालिका र पर्साको जगरनाथपुर गाउँपालिकामा स्थानीय र प्र*हरीबीच झडप हुँदा सोमबार करिब डेढ दर्जन घा*इते भएका छन् ।

प्रदेश सरकारले उपलब्ध गराएको राहतमा स्थानीय जनप्रतिनिधिले वास्तविक पीडितको नाम काटेर आफ्ना कार्यकर्तालाई प्राथमिकतामा राखेको तथा भर्पाई गरिएभन्दा कम राहत दिएको भन्दै सर्वसाधारणले प्रश्न गरेपछि झ*डपको स्थिति बनेको थियो ।

भिड नियन्त्रण गर्न मिर्चैया–७ फूलबरियामा त प्र*हरीले लाठीचार्ज मात्रै होइन, नौ राउन्ड हवाई फायर र चार सेल अश्रुग्याससमेत प्रहार गरेको छ । त्यससँगै सेना र सशस्त्र प्र*हरीसमेत परिचालन गरेर स्थिति सामान्य बनाइएको छ ।

प्र*हरीको लाठीबाट राहत लिन आएका स्थानीय दलित सियाराम महरा, शेरोदेवी महरा र दुलारचन्द्र पासवान घा*इते भएका छन् । राहत माग्न आउँदा पनि प्रहरीले बल प्रयोग गरेपछि आक्रोशित बनेका स्थानीयले वडा कार्यालयमा ढुंगामुढा गरेका थिए ।

त्यस क्रममा इलाका प्र*हरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी सन्तुलाल जैसवाल, असइ वीरेन्द्र मण्डल, हवल्दार सरस्वती चौधरी तथा प्रहरी जवानद्वय मोनिका अधिकारी र सावित्रा खनाल घाइते भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

झडपपछि स्थिति सामान्य पार्न नेपाल प्र*हरीसँगै सेना र सशस्त्र प्र*हरी पनि परिचालन गरिएको थियो । इलाका प्र*हरी कार्यालय मिर्चैयाबाट ३२ जना, इलाका प्र*हरी कार्यालय गोलबजारका सातजना, सशस्त्र प्र*हरी बेस मिर्चैयाका १३ र सेनाको २० जनाको टोली परिचालन गरिएको थियो ।

वडा कार्यालयले प्रतिपरिवार १२ किलो चामल, एक किलो दाल, एक किलो नुन, पाँच सय ग्राम सोयाबिन, आधा लिटर खानेतेल राहत वितरणका लागि तयार गरेको थियो । तर, लक्षित घरपरिवार पहिचान तथा राहत वितरण समितिले छनोट गरेको सूचीबाट वडाध्यक्ष रामकुमार यादवले मनपरी ढंगले नाम हटाउने र थप्ने गरेपछि स्थानीय विपन्नले आपत्ति जनाएका थिए । ‘राहत दिनुको साटो प्रहरीले हामीमाथि लाठीचार्ज गरेको छ,’ स्थानीय रामेश्वर यादवले भने ।

लकडाउन सुरु भएपछि मिर्चैया नगरपालिकाले हरेक वडाका वडाध्यक्षको नेतृत्वमा लक्षित घरपरिवार पहिचान तथा राहत वितरण समिति गठन गरी अतिविपन्न र दैनिक ज्यालादारी परिवारको सूची संकलन गरेको थियो ।

फूलबरिया गाउँका स्थानीयसमेत रहेका समितिका सदस्य श्रवण मश्राङ्गीका अनुसार वडा क्षेत्रका दुई सय ७६ घरधुरी परिवारको सूची तयार गरी राहतका लागि सिफारिस गरिएको थियो ।

‘सूची बुझाएपछि वडाध्यक्षले छनोट भएका परिवारको नाम काटेर खान–लाउन पुग्ने, वैदेशिक रोजगारीमा रहेका परिवारको नामसमेत थपेछन्,’ मश्राङ्गीले भने, ‘त्यति मात्र होइन, आर्थिक रूपले सक्षम परिवारका तीन–तीनजनालाई राहत दिइएपछि आइतबारदेखि नै अतिविपन्न र दैनिक ज्यालादारी गर्नेले राहत पाउनुपर्ने माग गर्दै आएका थिए ।’

त्यति मात्रै होइन, वडाध्यक्ष यादवले राहत सामग्री वितरण गर्नुको सट्टा आफ्नो घरसहित तीन ठाउँमा स्टक गरेर राखेको स्थानीयको आरोप छ । आफूले नाम थपेकासहित ४५ जनाको राहत सामग्री आफ्नो घरमा, ९० जनाको फूलबरियाको छघरे गाउँस्थित जनता आधारभूत विद्यालयमा र एक सय ४१ जनाको राहत वडा कार्यालयमा राखेको पाइएपछि विवाद चर्किएको थियो ।

त्यसबारे आइतबार मिर्चैया प्रहरीमा छलफल भए पनि वडाध्यक्ष यादवले गल्ती नसच्याएपछि सोमबार वडा कार्यालयमा ढुंगामुढा गरिएको स्थानीयको भनाइ छ ।

वडाध्यक्ष रामकुमार यादवले काम गर्ने क्रममा गल्ती भएको बताए । राहत बाँड्ने क्रममा केही विपन्न परिवार छुटेको भन्दै उनले दुई–तीन दिनमा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । नयाँ पत्रिका दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया