लाखौँको बीउ बिक्री गर्ने किसान आफैँ बीउविहीन

राष्ट्रिय समाचार समिति

दुल्लू, ३१ वैशाख :दैलेखको दुल्लू नगरपालिका–१३ खातिगौडा गाउँका कृषकले पहिलो वर्ष १२० रोपनी जमिनमा लगाइएको नर्सरीबाट लाखौँको बीउ उत्पादन गरे । आम्दानी पनि राम्रै भयो । विदेश जानु पनि परेन् । करिब १०० भन्दा धेरै कृषकले लाखौँ आम्दानी गरेर आफ्नो घरपरिवारसँगै रहेर कमाउने अवसर पाउँदा निकै हर्षित थिए ।

Various colorful flowers growing in plant nursery

त्यहीअनुसार उनीहरुले यो वर्ष पनि उत्पादनलाई थप वृद्धि गर्न निकै मेहनत गरे । राम्रो उत्पादन् हुने देखियो । तर, पटक–पटक परेको असिनापानीले सखाप पारिदियो । आशा निराशामा बदलिदियो । अहिले त नर्सरीनै बीउविहीन बनेको हातेमालो तरकारी तथा बीउ प्रवद्र्धन केन्द्र सहकारी संस्थाका अध्यक्ष विष्णु शाहीले दुखेसो पोख्नुभयो ।

अघिल्लो वर्ष १२० रोपनीमा लगाइएको नर्सरीबाट प्याज, चमसुर, केराउ र सिमीको बीउ उत्पादन गरी ३२ लाख बराबरको बीउ राष्ट्रिय बीउ व्यवसायी सङ्घ काठमाडौँलाई बिक्री गरेका कृषक यो पाली आफ्नै नर्सरीमा लगाउने बीउ नहुँदा चिन्तित र दुःखी बनेका छन् ।

अघिल्ला वर्षमा बीउ उत्पादन गरी लाखौँको कारोवार गरी आम्दानीबाट खुशी हुन पुगेका उनीहरू यसपाली आफैँ बीउविहीन हुँदा दुखी र चिन्तित बनेका हुन् । शुरुआतीको समयमा केही आशा गरेर उत्पादनमा हौसिएका कृषकको मेहनतलाई असिनापानीले पानीमा मिलाइदिएको कृषक रमेश खड्काले बताउनुभयो । उहाँका अनुसार उत्पादन भएको लाखौँको बीउ राष्ट्रिय बीउ व्यवसायी सङ्घ काठमाडौँले लिने सम्झौता भएका थियो ।

गत वर्ष त्यस खातिगौडाका कृषकले ३० क्विन्टल प्याज, ३० क्विन्टल सिमी, २५ क्विन्टल चम्सुर र २० क्विन्टल केराउको बीउ उत्पादन गरी ३२ लाखको आम्दानी गरेको हातेमालो तरकारी तथा बीउ प्रवद्र्धन केन्द्र सहकारीले जनाएको छ ।

लाखौँको बीउ नर्सरी पटक–पटक परेको असिनापानीले पूर्ण क्षति पु¥याउँदा कृषिमा ठूलो समस्या परेकाले नगरपालिकाको कृषि शाखाप्रमुख हरि विष्टद्धारा क्षतिको विवरण सङ्कलन गरिएको दुल्लू नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले जानकारी दिनुभयो । विवरणका आधारमा राहतस्वरूप बीउ उपलब्ध गराउन पहल गरिने उहाँले बताउनुभयो ।

पटक–पटक परेको असिनापानीले जिल्लाभरिनै तरकारी, फलफूल र गहुँबालीमा क्षति पु¥याएको हुँदा लकडाउन खुकुलो भएपछि जिल्लाका ११ वटै स्थानीय तहका प्रमुखसँग राहत र क्षतिपूर्तिका लागि संयुक्तरूपमा छलफल गर्ने तयारी गरेको जिल्ला कृषि विकास कार्यालय दैलेखका प्रमुख तिलक पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया