सीमामा अलपत्र परेकालाई स्वदेश ल्याउन निर्देशन

राष्ट्रिय समाचार समिति

काठमाडौँ १ जेठ सङ्घीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले नेपाल र भारतको सिमानामा अलपत्र परेका नागरिकलाई स्वास्थ्य परीक्षण गरी स्वदेश ल्याउन निर्देशन दिएको छ । कोरोना भाइरस (कोभिड–१९)को समस्या र हुनसक्ने थप सम्भावित खतरा यसको रोकथाम, उपचार र नियन्त्रण गर्न बसेको बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई बोलाई १० बुँदे निर्देशन दिँदै सीमामा अलपत्र परेका नागरिकलाई सङ्घ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी छिटोभन्दा छिटो स्वास्थ्य परीक्षण गरी आ–आफ्नो घर पठाउने व्यवस्था मिलाउन भनिएको सभापति जयपुरी घर्तीले जानकारी दिनुभयो ।

समितिले विदेशमा रहेका मजदुर, विद्यार्थी र अन्य सबै नेपाली नागरिकलाई नेपाल ल्याउन क्वारेन्टाइन र आइसोलेशनसहित आवश्यक व्यवस्था गर्न तथा विदेशमै बस्न चाहनेलाई सम्बन्धित देशसँग समन्वय गरी उचित व्यवस्थापन एवं तयारी गर्नेसमेत निर्देशन दिएको छ । सभापति घर्तीले मन्त्री ढकाललाई कोभिड–१९को सङ्क्रमणको जोखिम तीव्ररुपमा बढिरहेकाले स्वास्थ्य परिक्षणको दायरा तीब्र बनाउनसमेत निर्देशन दिइएको जानकारी दिनुभयो ।

समितिको आज बसेको बैठकले मन्त्री ढकाललाई बोलाइ कोभिड–१९ को परीक्षणको दायरा बढाउन निर्देशन दिएको सभापति जयपुरी घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रीलाई अति आवश्यक स्वास्थ्य सामग्रीको अभाव हुन नदिन र प्रदेश सरकार, स्थानीय तहलाई स्वास्थ्य सामग्री यथाशीघ्र उपलव्ध गराउने व्यवस्था गर्नसमेत निर्देशन दिएको छ ।

यसैगरी समितिले कोरोना भाइरसको असरलाई मध्यनजर गरी आर्थिक वर्ष २०७७÷७८ को बजेट स्वास्थ्य क्षेत्रमा केन्द्रित बनाउनसमेत निर्देशन दिएको उहाँले जानकारी दिनुभयो । छलफलमा मन्त्री ढकालले कोभिड–१९ को परीक्षणको दायरालाई बढाइरहेको बताउनुभयो । उहाँले पीसीआरबाट १९ र आरडीटीबाट सबै ठाउँमा परीक्षण गरिरहेको जानकारी दिनुभयो ।

यस्तै कोरोना भाइरसको कारण लकडाउनमा परी अलपत्र परेका मजदुर, विद्यार्थी र नागरिकलाई स्थानीय सरकार तथा सरोकारवालासँग सही तथ्याङ्क तयार पारी राहतको व्यवस्थापन गर्न समितिले सरकारलाई निर्देशन दिएको छ । यसैगरी यस रोगको उपचार, रोकथाम र नियन्त्रणमा संलग्न हुने व्यक्तिको (चिकित्सक, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सुरक्षाकर्मी र स्वयंसेवक) को मनोबल उच्च बनाउन आवश्यक रहेकाले उनीहरुका लागि गुणस्तरीय पीपीईलगायत सामग्री यथाशीघ्र उपलव्ध गराउनेसमेत निर्देशन दिएको छ ।

कोभिड–१९ को सङ्क्रमणबाट बच्न अनिवार्य रुपमा मास्क, स्यानिटाइजर प्रयोग गर्नुपर्ने आवश्यकता भएको हुँदा सर्वसाधारण नागरिकलाई सर्वसुलभ ढङ्गले उपलव्ध हुने व्यवस्था मिलाउनसमेत निर्देशन दिइएको छ । “कोभिड–१९ रोगको रोकथामका लागि चाहिने आवश्यक स्वास्थ्य सामग्री, औषधि र दक्ष जनशक्तिको व्यवस्थापन व्यापक र यथाशीघ्र गर्नुपर्दछ,” निर्देशनमा भनिएको छ, “आइसोलेशन बेड, भेन्टीलेटरको थप व्यवस्था गर्नुपर्दछ ।” समितिले सङ्क्रमित व्यक्तिसँगको कन्ट्रयाक्ट ट्रेसिङलाई जोड दिन निर्देशन दिएको छ ।

यसैगरी समितिले मन्त्री ढकाललाई कोभिड–१९ को सङ्क्रमण बाहेकका अन्य बिरामीले खानुपर्ने औषधिमा कुनै अभाव हुन नदिनसमेत निर्देशन दिएको छ । क्वारेन्टाइनमा सामान्य उपचार, स्वास्थ्यकर्मीलाई खानबस्न र एम्बुलेन्सको राम्रो व्यवस्था गर्नुपर्ने, कोरोना भाइरसभन्दा बाहेकका बिरामीलाई उपचारमा अभाव नहुने गरी व्यवस्था हुनुपर्ने निर्देशनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया