आउँदो सोमबारपछि ‘लकडाउन’को स्वरुप परिवर्तन गर्ने तयारी

admin

काठमाडौं, २ जेठ : कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको स्वरुप परिवर्तन गर्ने तयारी गरेको छ ।

पछिल्लो पटक थप गरिएको लकडाउन आउँदो सोमबार सकिँदैछ । शुक्रबार बसेको समितिको  बैठकले आउँदो सोमबारपछि लकडाउनको स्वरुप परिवर्तन गर्नेबारे छलफल गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिएका छन् ।

स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग छलफल गरीउच्च जोखिममा रहेका क्षेत्र, मध्यम जोखिममा रहेका क्षेत्र र न्यून जोखिममा रहेका क्षेत्र छुट्याएर स्वरुप परिवर्तन गर्ने विषयमा छलफल भएको बिडारीले जानकारी दिए ।

विज्ञहरुले परीक्षण, कन्ट्याक्ट ट्रेसिङको दायरा बढाउनुपर्ने, क्वरेण्टीनको व्यवस्थापन राम्रोसँग गर्नुपर्नेलगायतका सुझाव दिए ।

नेपालको अवस्था अहिले आत्तिनुपर्ने नभए पनि सचेत हुनुपर्ने, विदेशबाट आउनेलाई सम्बन्धित पालिकामा क्वरेणटीनको उचित व्यवस्थापन गरी ल्याउनुपर्ने सुझाव पनि दिइएको नेपाल चिकित्सक सङ्घका अध्यक्ष लोचन कार्कीले जानकारी दिए।

चिकित्सा क्षेत्रका विज्ञले सरकारलाई वैज्ञानिक ढङ्गबाट निर्णय गर्न र सम्बन्धित क्षेत्रका व्यक्तिसँग पनि सल्लाह गर्न सुझाव दिएका छन् ।

विज्ञहरुका सुझावमा फेरि छलफल गरी समितिले निर्णय गर्नेछ । समितिको सुझावका आधारमा मन्त्रीपरिषद्ले लकडाउनको बारेमा निर्णय गर्नेछ । 

प्रतिक्रिया