कोरोना रोकथाम र नियन्त्रणमा सरकारले समयमै प्रभावकारी पहलकदमी लिएको छ : राष्ट्रपति

राष्ट्रिय समाचार समिति

काठमाडौं, २ जेठ : राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक स्थिरतामा मात्रै सरकारको नीतिगत निरन्तरता र कार्यक्रमिक सुनिश्चितता हुने बताउँदै वर्तमान सरकारको दुई वर्षका अवधिमा उल्लेखनीय उलपब्धि हासिल भएको बताएकी छिन् ।

राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गरी आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शुक्रबार विश्व समुदाय साझा र अदृष्य शत्रुसँग जुधिरहेका बेला नेपाल सरकारले यसको रोकथाम र नियन्त्रणमा समयमै प्रभावकारी र समन्वयात्मक पहलकदमी लिएको उल्लेख गरिन् ।

उनले वर्तमान सरकार नेपालको स्वाभिमानको रक्षा, नागरिकको संरक्षण र देशको गौरव बढाउन सम्पूर्ण सामथ्र्यका साथ आफूलाई केन्द्रित गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न कटिबद्ध रहेको पनि बताइन् ।

राष्ट्रपति भण्डारीले कोरोना भाइरसबाट पार पाउनका लागि विश्व समुदायबीच एकता, आत्मविश्वास र सहकार्य आवश्यक रहेकामा जोड दिइन् । समाज फेरि समृद्ध बन्न सक्ने तर गुमेको मानवीय मूल्यको क्षतिपूर्ति हुन नसक्ने भएकाले यतिबेला मानव जातिको सुरक्षा नै सरकारको प्राथमिकता भएको उनले स्पष्ट पारिन् ।

उनले सरकारले शान्ति सुरक्षा र भ्रष्टाचारको अन्त्यमा विशेष उपलब्धि हासिल गर्दै मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्ने यात्रामा सरकार अघि बढिरहेका बेला कोभिड- १९ को महामारीका कारण निर्धारित लक्ष्य र गतिमा धक्का पुगेको बताइन् ।

उनले भनिन्, “सरकारको प्राथमिकता बदलिएका छन् । सरकारको अबको प्राथमिकता स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनः उत्थान हुनेछन् ।” राष्ट्रपति भण्डारीको सम्बोधन जारी छ ।

प्रतिक्रिया