भन्ने २५ किलो चामल, बेच्ने २१ किलो

राष्ट्रिय समाचार समिति

काठमाडौँ, २ जेठ :बिक्री बिल जारी नगरी कम तौलको चामल बिक्री गरेको भन्दैे एक पसललाई कारवाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा आएको गोप्य सूचनालाई आधार बनाएर गरिएको अनुगमनमा मैतीदेवीस्थित मातारानी ट्रेडिङले स्थानीय चामल भन्दै छुट्टाछुट्टै तौल राखेर बिक्री गरेको भेटिएपछि कारवाहीस्वरुप रु तीन लाख जरिवाना गरिएको छ ।

गुनासोका आधारमा विभाग र गुणस्तर तथा नापतौल विभागका कर्मचारीले संयुक्त रूपमा अनुगमन गर्दा २५ किलोको बोरा भन्दै २१, २२ र २३ किलोको चामल बिक्री गरिएको भेटिएपछि तत्काल उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारवाही गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार तीन छुटै तौल भएको चामलको बोरा नापतौल विभागले परीक्षणका लागि लगेको छ । स्थानीय चामल या बाहिरबाट ल्याएर स्थानीय भन्दै बिक्री गरिएको परीक्षणको रिपोर्ट आएपछि थाहा हुने उहाँले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा लोकल चामल भनेर अरुबाट नै खरीद गरेर चामल बिक्री गरेको र तौलका विषयमा आफू जानकार नभएको पसल सञ्चालकले बताएको उहाँले जानकारी दिनुभयो । “प्रारम्भिक अनुगमनका क्रममा बिक्री गर्ने पसलको पनि कमजोरी देखिएकाले तत्काल कारवाही गरिएको हो ।

चामल बिक्री गर्ने अन्य व्यक्तिहरुको खोजी गरिएको छ”, उहाँले भन्नुभयो, “गल्ती गर्नेहरुलाई नियमअनुसार विभाग र नापतौल विभागले छुट्टाछुट्टै कारवाही गर्नेछन् ।”

प्रतिक्रिया