कारागारका कैदीबन्दी उच्च जोखिममा

राष्ट्रिय समाचार समिति

भैरहवा, ३ जेठ : जिल्ला कारागार रुपन्देहीमा रहेका कैदीबन्दी कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छन् । जिल्लामा संक्रमणको दर बढेसँगै कैदीबन्दीमा पनि संक्रमण फैलिने त्रास बढेको छ ।

कारागारले आन्तरिकरुपमा कैदीबन्दीलार्ई सचेतना दिलाउने तथा सरसफाइको व्यवस्था गरे पनि दैनिकजसो प्रहरीले ल्याउने नयाँ व्यक्तिबाट संक्रमण फैलिने डर भएको कारागार प्रमुख नारायण पन्थीले जानकारी दिनुभयो ।

प्रहरीले दैनिकजसो तीनदेखि पाँच नयाँ व्यक्ति कारागार चलान गर्ने गरेको र नयाँ र पुराना कैदी एकैठाउँमा राख्दा समस्या देखिएको उहाँको भनाइ छ । कार्यक्षेत्रमा खटिने सुरक्षाकर्मी तथा कारागारमा नयाँ कैदी ल्याउने सुरक्षाकर्मी र ब्यारेक बाहिर बसेर ड्यटीका समयमा कारागार आउने प्रहरीबाट पनि संक्रमण फैलिने डर भएको कारागार स्रोतले जनाएको छ ।

विसं १९९० मा निर्मित पुरानो कारागार भवनमा १५० कैदी राख्ने क्षमता भए पनि अहिले ४३६ जना रहेका छन् । क्षमताभन्दा बढी कैदी राखिएको सो कारागारमा नयाँ आउनेलाई छुट्टै व्यवस्थापन गर्ने स्थानसमेत नभएको जिल्ला कारागार सूचना शाखाले जनाएको छ ।

रुपन्देहीमा २८ कोरोना भाइरस संक्रमित भेटिएपछि कारागारले गृह मन्त्रालयमा संक्रमणको उच्च जोखिम रहेको प्रतिवेदनसमेत पठाइएको जनाएको छ ।

प्रतिक्रिया