विश्वभर कोरोनाबाट ९६ नेपालीको मृत्यु, सात हजार सङ्क्रमित

admin

काठमाडौं, ४ जेठ : विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ९६ पुगेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको छ ।

यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । संयुक्त अरब इमिरेट्स (युएइ) मा नौ, साउदी अरबमा दुई तथा आयरयाण्ड, जापान, टर्की, नेदरल्याण्डस, बहराइन, स्वीडेन र नेपालमा एकएक जनाको मृत्यु भएको समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिए ।

मृत्यु हुनेमा ७७ पुरुष र १९ जना महिला रहेको स्वास्थ्य समितिले जनाएको छ । कोरोना भाइरसका कारणले यो साता मात्र नेपालसहित थप १८ जनाले ज्यान गुमाएका हुन् । सो साता ज्यान गुमाउनेमा बेलायत १२, युएई तीन, साउदी अरब दुई र नेपाल एक रहेको एनआरएन स्वास्थ्य समितिले जनाएको छ ।

यस्तै एनआरएनए स्वास्थ्य समितिका संयोजक डा सापकोटाका अनुसार नेपालबाहेक विश्वभर छ हजार ७८१ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् । तीमध्ये मध्यपूर्वमा ५३, अमेरिकामा २३, युरोपमा १९ र एशियामा पाँच प्रतिशतमा संक्रमणमा देखिएको छ ।

अष्ट्रेलियामा एक प्रतिशतभन्दा कम संक्रमण देखिएको छ । अफ्रिकी मुलुकमा रहेका नेपालीमा कोरोना संक्रमण नदेखिएको कोडिभ-१९, उच्चस्तरीय समिति एनआरएनका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

संक्रमितमध्ये ३५ प्रतिशतभन्दा बढी नेपाली कोरोना भाइरसबाट मुक्त भएको अनुमान सो समितिले गरेको छ । डा. सापकोटाले कोरोना संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउन नेपाली समुदायलाई अनुरोध गरेका छन् । उनले कोरोना संक्रमणको शंका लागेका तुरुन्त आफ्नो चिकित्सककहाँ वा संघको स्वास्थ्य सेवा हटलाइनमा सम्पर्क गर्न आह्वान गरेका छन् ।

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको सो आँकडानुसार ११ देशमा गैरआवासीय नेपालीको ज्यान गएको छ भने बाँकी १९ देशमा रहेका नेपाली कोभिड-१९ बाट संक्रमित छन् ।

स्वास्थ्य समितिका अनुसार कतारमा दुई हजार पाँच सय, अमेरिकामा एक हजार ६ सय, बेलायतमा एक हजार २२१, बहराइनमा ३११, युएईमा दुई सय, कुवेतमा ८४, नेपालमा २८१, साउदी अरबमा ६७४, मलेसियामा ४९, पोर्चुगलमा २९, आयरल्याण्डमा २२, स्पेन र क्यानडामा १३-१३, अष्ट्रेलियामा १२, जापान र माल्दिभ्समा १०-१०, बेल्जियममा ६, स्विट्जरल्याण्डमा पाँच, जर्मनी र फिनल्याण्डमा चार, साइप्रस र न्युजिल्याण्डमा तीनतीन, माल्टा, हङ्गकंङ्ग र पोल्याण्डमा दुईदुई तथा म्यान्मा र फ्रान्समा एकएक गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ ।

प्रतिक्रिया