दुई बालकमा भेटियो कालाजार

राष्ट्रिय समाचार समिति

मार्तडी,४ जेठ: बाजुरामा थप दुई बालकमा कालाजारको बिरामी भेटिएको छ । पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिका–३ जैलुका ५४ महिने महेन्द्र बोहरा र जगन्नथा गाउँपालिका–२ आसबाडाका २० महिने बालक विपना नाथ रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा राजुराज जैसीले जानकारी दिनुभयो । उत्तरी भेगमा कालाजारका बिरामीका सङ्ख्या चार पुगेको छ ।

उपचारका लागि कोल्टी ल्याइएका महेन्द्र र विपनालाई प्रयोगशाला परीक्षणबाट कालाजार भेटिएको बूढीनन्दा नगरपालिका स्वास्थ्य संयोजक ओमजङ्ग शाहीले बताउनुभयो ।

सो क्षेत्रमा केही दिनअघि मात्र जगन्नाथ गाउँपालिका–५ का १७ महिनाका देवेन्द्र बुढामा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा जाँच गर्दा कालाजार देखापरेको थियो । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा यसको उपचार नहुने भएकाले धनगढी, नेपालगञ्ज, सुर्खेत लैजानुपर्ने बाध्यता छ ।

कालाजार रोग तराई जिल्लामा मात्र देखापर्ने रोग हो । पछिल्लो समयमा पहाडतिर पनि देखापर्ने थालेको छ । यो रोग भुसिनाको टोकाइबाट हुने र भुसिनाको टोकाइबाट सर्ने रोग हो । यो रोगको लक्षण ज्वरो आउने, तौल घट्ने, कलेजो र फियोमा असर पार्ने तथा अन्य सङ्क्रमण फैलिएर मृत्यु हन सक्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

कोल्टी क्षेत्रमा गतवर्र्ष कालाजारबाट एक बालिकाको मृत्यु भएको थियो । स्वामीकार्तिक गाउँपालिका–५ जेरा बस्ने १३ वर्षीया भाग्य शाहीको उपचारका क्रममा काठमाडौँको कान्ति बाल अस्पतालमा मृत्यु भएको थियो ।

पूर्वी उत्तरी भेगका थप दुईजना कालाजारका बिरामी भेटिएका थिए । स्वामीकार्तिक गाउँपालिका–५ जेरा बस्ने ११ वर्षीया कञ्चना शाही र सोही गाउँपालिका–२ साप्पाटाकी तीन वर्षीया करिश्मा भण्डारीलाई यो रोग देखापरेको थियो ।

प्रतिक्रिया