विपन्न देशमा सरकारी विलासिता : गाडी र इन्धनमा पाँच वर्षमा ४६ अर्ब खर्च

admin

काठमाडाैं, २५ जेठ: पूर्वाधारमा निराशाजनक खर्चको परम्परा बोक्दै आएको देशले विलासिताका साधन खरिदमा भने संयम अपनाउन सकेको छैन । सवारीसाधन खरिद, मर्मत र इन्धनमा सरकारले विगत १० वर्षमा करिब ६६ अर्ब र पाँच वर्षयता मात्र ४६ अर्ब रुपैयाँ खर्च गरेको छ । तर, यसरी खरिद गरिएका गाडीमा खराबी आएपछि मर्मत गर्नुको सट्टा नयाँ खरिद गर्ने र राष्ट्रिय ढुकुटी बेपर्वाह खर्च गर्ने प्रवृत्ति छ ।

अर्थ मन्त्रालयबाट प्राप्त जानकारीअनुसार १० वर्षअघि आर्थिक वर्ष ०६८-६९ मा सरकारले इन्धन तथा मर्मतमा दुई अर्ब नौ करोड र नयाँ गाडी खरिदमा ७८ करोड खर्च गरेको थियो । यसरी यो वर्ष सवारीसाधनमा कुल दुई अर्ब ८७ करोड खर्च भएको थियो । अर्को वर्ष ०६९-७० मा सवारीसाधनमा तीन अर्ब ५७ करोड खर्च भएको तथ्यांक छ । यसमध्ये दुई अर्ब ४० करोड इन्धन र मर्मतमा तथा एक अर्ब १७ करोड नयाँ गाडी खरिदमा खर्च भएको थियो ।

वर्ष ०७०-७१ मा नयाँ गाडी खरिदको खर्च करिब चार गुणा बढाइएको थियो । यो वर्ष चार अर्ब ५७ करोडका नयाँ गाडी खरिद गरियो भने इन्धन र मर्मतमा तीन अर्ब २० करोड खर्च भयो । यसरी एकैवर्ष सवारीसाधनमा सात अर्ब ७८ करोड खर्च भयो । अर्को वर्ष ०७१-७२ मा कुल खर्च ६ अर्ब ११ करोड भयो जसमध्ये इन्धन तथा मर्मततर्फ तीन अर्ब ४० करोड र नयाँ गाडी खरिदमा दुई अर्ब ७१ करोड खर्च भएको थियो ।

वर्ष ०७२-७३ मा इन्धन तथा मर्मतमा चार अर्ब ११ करोड र नयाँ गाडी खरिदमा दुई अर्ब २१ करोड खर्च भयो, यसरी यो वर्ष सवारीसाधनमा कुल ६ अर्ब ३३ करोड खर्च भयो । वर्ष ०७३-७४ मा यो खर्च दोब्बर भयो । सवारीसाधनमा राज्यले एकैवर्ष ११ अर्ब ४२ करोड खर्च गर्यो । योमध्ये इन्धन तथा मर्मतमा चार अर्ब ७१ करोड र नयाँ गाडी खरिदमा ६ अर्ब ७१ करोड खर्च भएको थियो । नयाँ पत्रिका दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू