प्रधानमन्त्री असफल हुनुहोला, देश असफल हुनुहुँदैन : खाँण

admin

काठमाडौं, २५ जेठ : नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रतिनिधि सभाको आइतबारको बैठकमा कोरोना, बाढी पहिरो तथा प्रशासनिक व्यवस्थापनलगायतमा सरकार पूर्णरुपमा असफल भएको बताएका छन् ।

सरकार तथा प्रधानमन्त्री असफल भए पनि देश असफल हुन नसक्ने भन्दै उनले असफल प्रधानमन्त्री र असफल सरकारलाई बोकेर नहिँड्न सत्तापक्षका सांसदहरुलाई सुझाव दिएका छन् ।

उनले भने, ‘कोरोना, बाढी पहिरो, प्रशासन व्यवस्थापनलगायतमा पूर्णरुपमा सरकार असफल भएको छ । सत्तासीन पार्टी गम्भीर बनोस् । असफलतालाई बदल्न तयार होस् । सरकार असफल होला, प्रधानमन्त्री असफल हुनुहोला, देश असफल हुनुहुँदैन । यस विषयमा सत्तासीन पार्टीले गम्भीर निर्णय गरोस् ।’

‘देशको आवश्यकता हेरेर भन्सार बढाउने र घटाउने निर्णय गर्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै उनले सरकारलाई ‘चकलेटी सरकार’ को संज्ञा दिए । उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतीय अतिक्रमणबाट फिर्ता ल्याउने विषयमा बजेट विनियोजन नभएकोले आवश्यक बजेट छुट्याउन पनि माग गरे ।’

साथै उनले विद्युतीय सवारी साधनमा भन्सार वृद्धि गरिएकोमा आपत्ति जनाएका छन् । उनले बन्द रहेका शैक्षिक संस्था सञ्चालन सम्बन्धमा शिक्षा मन्त्रीले दिएको अभिव्यक्तिप्रति समेत आपत्ति जनाएका छन् ।

प्रतिक्रिया