बाराको पथलैयामा सेनाको ब्यारेक राखेकोमा सांसद सरिता गिरीको आपत्ति

admin

काठमाडौं : राजपा नेपालकी सांसद सरिता गिरीले बाराको पथलैयामा नेपाली सेनाको ठूलो ब्यारेक राखेकोमा आपत्ति जनाएकी छिन् । साथै निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको नाममा नेपाली सेनाको एयर बेस बनाउन लागेको भन्दै सरकारको जवाफ माग गरेकी छिन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा सरकारले ल्याएको बजेटमाथि धारणा राख्ने क्रममा सांसद गिरीले सरकारले बजेटमा सेनाको एयर बेस स्थापना गर्ने कुरा ल्याएको बताउँदै ठाउँ नतोके पनि आफूलाई थाहा भएको जिकिर गरिन् । उनले सेनालाई फास्ट ट्रयाक बनाउन दिएर सरकारले गलत काम गरेको बताउँदै निजगढमा सरकारले दुई तीन बर्षदेखि सेनाको एयर बेस बनाउन थालेको भन्दै आपत्ति जनाइन् ।

उनले सभामुखलाई अफूले राष्ट्रिय सुरक्षाको विषयमा कुरा गर्न लागेको बताउँदै सेनालाई बंकरबाट निकालेर कहाँ लैजान लागेको भन्दै उनीहरुलाई दक्षिण सिमाना लैजाने कि उत्तरीमा सिमानामा लैजाने भन्दै प्रश्न गरिन् । यसलाई सरकारले स्पष्ट पार्न माग गर्दै चीनले ३५ हेक्टर जमिन कब्जा गरेर राखेकोले उत्तरमा सेनाको पोष्ट बनाइन्छ ? भन्दै प्रश्न गरिन् ।

उनले निजगढ बिमानस्थल बनाउन लागेको भनेर प्रचार गरेपनि त्यसमा सत्यता नभएको र त्यहाँ सेनाको एयरबेस बनाउन लागेको दावी गरिन् । उनले भनिन्– ‘बजेटमा सेनाको लागि एयरबेस बनाउने भन्ने कुरा आएको छ । कहाँ बनाउने त्यसमा मौन छ तर मलाई थाहा छ दुई तीन वर्षदेखि निजगढमा एयरबेस बनाउने तयारी गरिएको छ ।

मैले बारम्बार भनिरहेको छु निजगढ विमानस्थलको बारेमा जे प्रचार गरिएको छ त्यसमा सत्यता छैन । निजगढमा सेनाको ब्यारेक बनाउने तयारी भइरहेको छ । फास्ट ट्रयाक सेनालाई दिइयो र पथलैयामा सेनाको ठूलो क्याम्प बनाइएको छ । जहाँ तीनतिरबाट सडक आएको छ त्यहाँ सेनाको क्याम्प बनाउन किन आवश्यक पर्यो ?’

सेनाको बारेमा सांसद गिरीले थप बोल्दै गर्दा समय सकिएका कारण सभामुखबाट माइक काटियो । सांसद गिरीले सरकारले ल्याएको बजेट संघीयता विरोधी रहेको बताउँदै जहाँ नेकपा सांसद जितेका छन्, त्यहाँ बजेट दिएको र अन्य स्थानमा विभेद गरेको आरोप समेत लगाइन् ।
हेर्नुहोस् भिडियो :

प्रतिक्रिया