नवराजसहितका युवालाई चार गाउँ मिलेर यसरी लखेटेका थिए

admin

काठमाडाैं, २६ जेठ : गैरदलित युवतीलाई भगाएर बिहे गर्न रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीगाउँ पुगेका जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विकसहित ६ युवकको ज्यान जाने गरी भएको घटनामा चार गाउँका बासिन्दा संलग्न रहेको पाइएको छ । प्रहरीको अनुसन्धान तथा स्थानीय बासिन्दाका अनुसार सोतीलगायत चार गाउँका बासिन्दाले नवराजसहितका युवालाई लखेटेका थिए ।

१० जेठ साँझ जाजरकोटको खलंगाबाट छिमेकी साथीहरू सञ्जु विक र गणेश बुढामगरसहित १० जनालाई लिएर नवराज गएका थिए । १० किलोमिटर टाढा भेरी नदीको धल्ला पुल पुगेपछि नवराजकै आग्रहमा भेरी नगरपालिका–११ मटेलाका लोकेन्द्र सुनार र उनका साथी गोविन्द शाहीसहित नौजना थपिएका थिए । भेरीको धल्ला पुलमा जम्मा भएका उनीहरू डेढ घन्टा उकालो हिँडेर युवतीको गाउँमा पुगेका थिए ।

युवतीको घरनजिक पुगेपछि त्यहाँका बासिन्दाले चिन्छन् भन्दै ज्याकेट फेरेर पछाडि लागेको घाइते सुदीप खड्काले बताए । तर, उनीहरू युवतीको घर नपुग्दै उनकी आमाले ‘तँ फेरि आइस्, पहिले कुटेकाले पुगेन, अब त मरेर जान्छस्’ भन्दै गाली गरेको सुदीपले बताए । गाली गर्न थालेपछि आमाले थाहा पाएको भन्दै त्यहाँबाट फर्किएको उनको भनाइ छ । त्यसपछि उनीहरू पहिलेको बाटो छोडेर अर्को बाटो फर्किन ओरालो झरेका थिए ।

त्यहाँबाट करिब एक किलोमिटर तल झरेर उनीहरूले नाउलो (कुवा)मा पानी खाएका थिए । त्यहीँ घर भएका विनोद मल्लबारे सोधिखोजी गर्दै मोबाइल नम्बरसमेत मागेका थिए । त्यहाँबाट पनि हिँडेपछि ‘पानी खाएर जाऊ’ भन्दै वडाध्यक्ष डम्बरबहादुर मल्लले अलमल्याएको सुदीपले बताए । घटनाको अनुसन्धानमा खटिएका प्रहरीका अनुसार उनीहरूलाई युवतीको घरबाट त्यहाँसम्म पुग्न ४५ मिनेट लागेको थियो । त्यसपछि चार गाउँका बासिन्दा आएर लखेट्न सुरु गरेको प्रहरीले जनाएको छ ।

गाउँ नै फर्किएपछि उनीहरू त्यहाँबाट भागे । सोती गाउँबाट करिब तीन किलोटिमर तल गैरीज्युला गाउँको सिरानको सडकमा पुगेका थिए । त्यहाँ पनि स्थानीय बासिन्दा आएपछि करिब पाँच सय मिटर परको झोलुंगे पुल तर्न खोजेको थिए । त्यही पुल भएर जाजरकोटकै कालेगाउँ पुगिन्छ ।

तर, पुलतर्फबाट पनि गाउँले नै आएपछि उनीहरू घेराबन्दीमा परेका प्रहरी अनुसन्धानमा देखिएको छ । घटनामा घाइते भएका गोविन्द सुनारले भने, ‘सडकको दुवैतर्फबाट ढुंगा प्रहार हुन थाल्यो । ज्यान जोगाउन भागाभाग भयो । को कता गयो ? कसले कति कुटे ? केही थाहै भएन ।’ ढुंगामुढाले आक्रमण हुन थालेपछि सडकमुनिको मकैबारीतिर भागेको उनले बताए । केही स्थानीय बासिन्दाका अनुसार नवराज र उनका केही साथीहरू त्यहीँ समातिएका थिए ।

त्यहाँबाट पनि भागेका युवकहरू करिब ५० मिटर तलको भेरी नदी तरेर पारि जान खोजेका थिए । भँगालो कटेर बीच बगर र पारि पुगेकालाई पनि कुटपिट गरिएको पाइएको छ । प्रहरीका अनुसार पौडी खेल्न नजान्ने महेश कार्की र डिल्ली विक नदी किनारमै रोकिएका थिए । १० जना नदीमा पसेका थिए ।

उनीहरूमध्ये मदन शाही, भोला बिसी, लालबहादुर खड्का, सरोज भडेल र विभाष पुन पौडिएर भेरी नदीपारि पुगेका थिए । त्यस्तै, आशिष विक, सुनील सुनार, इन्द्रजंग सुनार, गोविन्द सुनार र सुदीप खड्काले भँगालो तरे पनि पारि जान आँट गरेनन् । त्यतिवेला नवराजसहित मृत्यु भएका ६ जनाको अवस्था कस्तो थियो भन्ने अहिलेसम्म प्रहरी अनुसन्धानमा पनि खुलेको छैन । प्रकाश धाैलाकाेटीले नयाँ पत्रिका दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया