न्यूयोर्कमा निषेधाज्ञा हट्यो, जनजीवन सहजतातर्फ उन्मूख

admin

काठमाडौं, २६ जेठ : न्यूयोर्कका मेयर बिल डी ब्लासियोले न्यूयार्क शहरमा एक सातादेखि लगाइएको निषेधाज्ञा हटाएको घोषणा गरेका छन् ।

मिनियापोलिस राज्यमा प्रहरी नियन्त्रणमा एक अश्वेत व्यक्ति जर्ज फ्लोएडको मृत्यु भएपछि भड्किएको हिंसा र प्रदर्शनका कारण न्यूयोर्क शहरमा एक सातासम्म निषेधाज्ञा लगाइएको थियो ।

अराजक र उग्र भिडले न्यूयोर्कमा तोडफोड, आगजनी र लुटपाट गरेको थियो । मेयर ब्लासियोले ट्वीटरमार्फत निषेधाज्ञा हटाइएको घोषणा गरेका थिए । न्यूयोर्क शहरको ७५ वर्षको इतिहासमा पहिलो पटक निषेधाज्ञा जारी गरिएको थियो ।

कोरोनाभाइरस महामारीका कारण झण्डै दुई महिना लकडाउन गरिएको न्यूयोर्क शहरमा आर्थिक गतिविधिलाई पुनर्जीवित तुल्याउन यही सोमबारदेखि पहिलो चरणको खुला गर्ने तयारी गरिएको छ ।

अमेरिकाकै सबैभन्दा बढी जनघनत्व रहेको न्यूयोर्कमा २१ हजारभन्दा बढी व्यक्तिको कोरोनाका कारण ज्यान गएको थियो । अधिकारीहरुका अनुसार पहिलो चरणमा निर्माण र उत्पादनका कार्यहरु पुनः खुला हुनेछन् ।

खुद्रा पसलहरुमा मानिसको भिडभाड नहुने शर्तमा खुला गर्न दिइने छ । न्यूयोर्कमा परिस्थिति नाजूक भएपछि मेयर ब्लासिओले गत जुन २ देखि निषेधाज्ञा जारी गरेका थिए । तर धेरै प्रदर्शनकारीले निषेधाज्ञा तोडेका थिए ।

प्रतिक्रिया