तेस्रो मुलुकबाट फर्कँदै काभ्रेली

राष्ट्रिय समाचार समिति

काभ्रेपलाञ्चोक, २६ जेठ : तेस्रो मुलुकबाट काभ्रेपलाञ्चोकका नागरिक फर्कन थालेका छन् । पहिलो चरणमा गत शुक्रबार युएईबाट एक महिलासहित तीन काभ्रेली फर्किएका हुन् ।

विदेशबाट फर्केलगत्तै काठमाडौँको बसुन्धरास्थित वाग्मती प्रदशेको ‘होल्डिङ सेन्टर’ बसेकालाई तीनैलाई सदरमुकाम धुलिखेल ल्याई स्थानीय तहको जिम्मा लगाइएको थियो । पनौनी नगरपालिकाको एक महिला, नमोबुद्ध नपाको एक र रोशी गाउँपालिकाका एक फर्किएका हुन् ।

उनीहरुलाई स्थानीय क्वारेन्टिनमा राखिएको जिल्ला सङ्कट व्यवस्थापन केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउनुभयो । उहाँका अनुसार आउँदो असार २ गते दास्रो चरणमा काभ्रेपलाञ्चोकका नागरिक फर्कने जानकारी आएको छ ।

केन्द्रले धुलिखेल नपाको सवारी साधनले होल्डिङ सेन्टरबाट जिल्लाका नागरिक धुलिखेलसम्म ल्याउने र धुलिखेलबाट स्थानीय तहका जनप्रतिनिधिले स्थानीय क्वारेन्टिनमा लगेर राख्ने प्रणाली बनाएको छ । “हामीले होटलमा बस्न चाहनेलाई सोहीअनुसार र अन्यलाई स्थानीय तहको क्वारेन्टिन पठाउनेछौँ” तिमल्सिनाले भन्नुभयो ।

उहाँका अनुसार विदेशबाट आएकामध्ये आफैँ खर्च व्यहोर्न सक्नेलाई धुलिखेलस्थित सुविधा सम्पन्न होटल क्वारेन्टिन तथा नसक्नेलाई स्थानीय क्वारेन्टिनमा राख्ने तयारी गरिएको हो ।

पछिल्लो दुई हप्तामा भारतबाट १२० नागरिक जिल्ला फर्किए । उनीहरु सबैजना हाल स्थानीय क्वारेन्टिनमै रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, जिल्ला कमाण्ड पोष्टले जनाएको छ । भारतबाट फर्किएमध्ये एक महिलासहित चारलाई कोरोना भाइरस पोजेटिभ देखियो ।

भारतबाट आएकासमेत गरी हालसम्म दुई महिलासहित पाँच कोरोना सङ्क्रमित छन् । मजदुरीलगायत विभिन्न कामका सिलसिलामा जिल्लाका एक हजार १२५ भारतमा बस्दै आएको तथ्याङ्क छ ।

नेपाल–भारत सीमा नाका तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आएका काभ्रेलीलाई सम्बन्धित व्यक्तिको बसोबास रहेको स्थानीय तहसम्म पु¥याउन स्पष्ट ठेगानासहित सूचना आदानप्रदान गर्न र सहजीकरण गर्न धुलिखेलस्थित नेपाली सेनाको विष्णुदल गणलाई जिम्मेवारी दिइएको छ ।

पोष्टका सदस्य एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले विदेशबाट आउने पोलिमरेज चेन्ज रियाक्सन (पिसीआर) परीक्षण गरेर आउने भएकाले पुनः जिल्लास्थित विभिन्न क्वारेन्टिनमा बसाइ तथा समयावधि सकिएपछि पनि कोरोना भाइरसको सङ्क्रमण देखिए तत्काल परीक्षण गरिनेछ भने सङ्क्रमण नदेखिएकालाई ‘होम क्वारेन्टिन’मा बसाइने बताउनुभयो ।

स्थानीय तहमा रहेका क्वारेन्टिनलाई १०० शै्ययाको बनाउने तयारीसमेत भइरहेको केन्द्रले जनाएको छ । हाल १३ स्थानीय तहलगायत संघसंस्थामा ६७४ शै्ययाको क्वारेन्टिन व्यवस्थित छन् । सरकारद्वारा जारी निर्देशिकामा सम्बन्धित स्थानीय तहले आफ्ना नागरिकलाई १४ दिन क्वारेन्टिन र थप सात दिन होम क्वारेन्टिनमा राख्नुपर्ने प्रावधान उल्लेख छ ।

तेस्रो मुलुकबाट काभ्रेली आउने भएपछि स्थानीय तहको क्वारेन्टिन थप व्यवस्थित गर्दै क्षमता विस्तार गर्न थालिएको प्रजिअ तिमल्सिनाले बताउनुभयो । भारतलगायत विभिन्न देशमा ११ हजार ५८७ काभ्रेली रहेको पोष्टको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया