नेपालगञ्ज शिक्षण अस्पताल पूर्णरुपमा बन्द

admin

कोहलपुर, २७ जेठ : बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल मंगलबारदेखि पूर्णरुपले बन्द गरिएको छ ।

शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका अछाम जिल्लाका दुई बिरामीमा कोरोनाको संक्रमण देखिएपछि अस्पताल बन्द गरिएको हो । अछाम जिल्लास्थित बयलपाटा अस्पतालले गर्भवती र आन्द्रामा समस्या भएका बिरामी कोहलपुर सिफारिश गरेको पाइएको छ ।

शिक्षण अस्पताल कोहलपुरमा ती बिरामीको जाँच गर्दा संक्रमण देखिएको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिए । ती बिरामीको शल्यक्रिया गर्ने तयारी गरिए पनि संक्रमण देखिएपछि रोकिएको छ ।

गर्भवती महिलामा संक्रमण पुष्टि
जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ५ की २५ वर्षीया गर्भवती महिलामा कोहलपुरमा संक्रमण पुष्टि भएको हो । उनी ११ दिन अघिबाट दयापिलतोला माविको क्वरेन्टीनमा रहँदै आएकी थिइन् ।

आठ महिनाकी गर्भवती ती महिलालाई आन्द्रामा समस्या आएर पेट फुलेपछि उपचारका लागि हेलिकप्टरबाट उद्धार गरेर सोमबार कोहलपुर लगिएको थियो । उनको कोहलपुरमा भएको परीक्षणका क्रममा संक्रमण पुष्टि भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।

प्रजिअ कुरुम्वाङका अनुसार ती महिलाको उपचार भैरहेको नेपालगन्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पताल सिल नगरी उच्च सतर्कताका लागि भिडभाड कम गरिएको छ । ती महिलाको मंगलबार नै अप्रेसन हुने र उनको सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङ गरिने पनि प्रजिअ कुरुम्वाङले जानकारी दिए ।

प्रतिक्रिया