दश अर्ब खर्चको हिसाब चाहिन्छ, सभामुख महोदय : नेता थापा

admin

काठमाडौं, २७ जेठ : प्रमुख प्रतिपक्षी कांग्रेसले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरकारले गरेको खर्चको हिसाब मागेको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा समय लिएर बोल्दै कांग्रेस सांसद गगन थापाले सरकार कोरोना रोकथाममा असफल भइसकेको र भ्रष्टाचारमा लिप्त भएको बताए ।

संसदमा थापाले भने, ‘१० अर्ब खर्चको हिसाब चाहिन्छ । ५ पीसीआर मेसिन र २५ हजार पीसीआर किट किनेर १० अर्बको हिसाबकिताब देखाउनुपर्दैन ? यस्तो राष्ट्रिय विपत्तिको बेलामा भ्रष्टाचारमा लिप्त हुने ? यो निर्लज्ताको पराकाष्टा हो ।’

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सोमबारको बैठकमा ९ अर्ब ८७ करोड कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा खर्च भएको र त्यो खर्च जुनसुकै बेला पनि देखाउन सक्ने बताएका थिए ।

सांसद थापाले प्रधानमन्त्रीको अहंकारले कोरोना भाइरस संक्रमणको महामारी रोक्न समस्या भएको बताएको समेत आरोप लगाए । पूर्वस्वास्थ्यमन्त्री समेत रहेका सांसद थापाले भने, ‘सबै कुरा म जान्दछु भन्ने प्रधानमन्त्रीको अहंकार, सरकारको अकर्मण्ड्यता र असक्षमताको कारणले आज हामीले यो अवस्था बेहोर्नुपरेको छ ।’

नेपालभन्दा बाहिर १२७ जना र नेपालभित्र १४ जनाको मृत्यु भइसक्दा पनि सरकार गम्भीर नभएको बताए । सांसद थापाले सुत्केरीले अस्पताल जान नपाएर मृत्यु भएको, क्वारेन्टाइनमा मरेकाको, भोकले मृत्यु भएकाको र भोकले आ’त्म’ह’त्या गरेकाको जिम्मा कसले लिने भनेर कांग्रेसले जवाफ मागेको पनि बताए ।

पीसीआर टेस्टको दायरा बढाउ भनेर सबैले बुझाव दिएको बेला सरकारले साँघुरो दायरा बनाएको भन्दै उनले भने। ‘यो क्वारेन्टिन हो कि मान्छे मार्ने कर्न्सनट्रेसन क्याम्प हो । हामीलाई जवाफ चाहिन्छ, बरू टेस्ट गर्न नै बन्द गर्ने र कोरोनामुक्त भनिदिए हुन्छ किनकि टेस्ट नगरेपछि संक्रमण देखिँदैन ।’

आरडीटी परीक्षण विश्वससनीय छैन भनेर विज्ञ र मन्त्रालयका अधिकारीले भन्दा पनि सरकारले जबर्जस्ती आरडीटी परीक्षण गरिरहेको उनले बताए । उनले भने, ‘आरडीटी परीक्षण विश्वससनीय छैन भनेर विज्ञ र मन्त्रालयका अधिकारीले भन्दा पनि र नेपालको संक्रमणको अवस्थालाई थेग्दैन भन्दा पनि जबर्जस्ती आरडीटी परीक्षण गर्ने अपराधको जिम्मा कसले लिने ?’

उनले आफूहरूले सरकारलाई सहयोग गर्ने बताए । उनले भने, ‘अब हामी सहयोग गर्छौं, सहयोग गर्छौ भनेर मात्र बस्दैनौं, अब हामी प्रश्न गर्छौं, उत्तर चाहन्छौं र सरकारलाई जवाफदेही बनाएर छाड्छौं ।’

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको समितिलाई संसदले नचिन्ने र संसदमा चिनाउनका लागि पनि थापाले माग गरे । पोखरेलले संसदमा आएर जवाफ दिनुपर्ने थापाको भनाइ थियो ।

प्रतिक्रिया