कोरोना परीक्षणबिनै संक्रमित धमाधम घर

admin

कपिलवस्तु, २८ जेठ : कोरोना हटस्पट बनेको जिल्लामा संक्रमितलाई पीसीआर परीक्षणबिनै धमाधम घर पठाउन थालिएको छ । कपिलवस्तु–८ स्थित विश्वमैत्री प्राविका आठ र कचरिहवा मदरसाका तीन जनालाई पीसीआर परीक्षणबिनै घर पठाइएको हो ।उनीहरू दोहनी गाउँका बासिन्दा हुन् । संक्रमण पुष्टि भएयता उनीहरूको पुन: पीसीआर परीक्षण गरिएको छैन ।

१४ दिन आइसोलेसनमा बसिसकेपछि थप लक्षण र बिरामी नभएमा घर पठाउने सरकारको नयाँ नीतिअनुसार उनीहरूलाई घर पठाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताले बताए । ‘हामीले पठाउन खोजेका थिएनौं,’ उनले भने, ‘सरकारको नीति मान्नै पर्‍यो ।’

उनका अनुसार अहिलेको निर्देशिका जारी हुनुपूर्व संक्रमितको दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि मात्र घर पठाउने गरिएको थियो । दुवै रिपोर्ट नेगेटिभ आएपछि जिल्लाका ४२ जना यसअघि संक्रमणमुक्त भएका थिए । गत जेठ २४ देखि जिल्लामा नयाँ निर्देशिकाअनुसार परीक्षणबिनै घर पठाउन थालिएको छ ।

यशोधरा गाउँपालिकाका ३८ जना संक्रमितलाई पनि दोस्रो रिपोर्ट नआउँदै घर पठाइएको छ । गाउँपालिकाको अनिरुद्र पब्लिक माविको आइसोलेसनमा रहेका ३८ जनाको स्वाब संकलन गरी तेस्रोपटक पीसीआरका लागि दाङ पठाइएको थियो । उनीहरूको जेठ २१ गते स्वाब पठाइएको हो । त्यस्तै त्यही क्वारेन्टाइनमा रहेका २९ जनालाई संक्रमणको कुनै लक्षण नदेखिएको भन्दै घर पठाइएको छ ।

‘गाउँपालिकाले संक्रमितको पीसीआर परीक्षणपछि मात्र घर पठाउने योजना बनाएको थियो,’ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ज्योतिप्रकाश दुबेले भने, ‘जिल्लाबाट डाक्टर आएर हेरेर पठाइदिनुभयो,’ उनले भने । नयाँ निर्देशिकाअनुसार उनीहरूमा लक्षण नदेखिएकाले आफूले डिस्चार्ज गरेको जिल्ला अस्पतालका डा. किशोर बन्जाडेले बताए ।

‘उनीहरूलाई एक सातासम्म घरमै आइसोलेसनमा बस्न भनेका छौं,’ उनले भने । त्यस्तै, यशोधरा–६ को क्वारेन्टाइनमा रहेका २४ जना, वसन्तपुरको क्वारेन्टाइनमा रहेका १३ र बैदोली मदरसा क्वारेन्टाइनमा रहेका १२ जनालाई मंगलबार घर पठाइएको छ । त्यस्तै, महाराजगन्ज नगरपालिकामा दुई दिनमा ५० जना संक्रमितलाई घर पठाइएको छ ।

उनीहरू सिसवा, कुशहवा र हर्दोना गाउँका थिए । आइसोलेसनमा बसेका उनीहरूको दोस्रो र तेस्रो परीक्षण नगरी घर पठाइएको नगरपालिकाका स्वास्थ्य प्रमुख राधेश्याम जयसवालले बताए । ‘बाहिरी लक्षण देखिएन,’ उनले भने, ‘सरकारको नीतिले पनि छाड्ने भन्यो, त्यही भएर छाड्यौं ।’ त्यस्तै तीन दिनयता क्वारेन्टाइनमा रहेका २ सय २ जनालाई घर पठाइएको छ । उनीहरूको पनि परीक्षण गरिएन । मायादेवी गाउँपालिकाका ११ जना संक्रमितलाई घर पठाइएको छ । उनीहरूमा दोस्रो र तेस्रो परीक्षण गरिएन ।

सरकारले जारी गरेको पछिल्लो निर्देशिकाको चारैतिर विरोध भइरहेको छ । स्वास्थ्यकर्मीले समेत चिन्ता प्रकट गरेका छन् । यसले संक्रमण समुदायमा जाने डरत्रास बढाएको छ ।

यो नीतिको चौतर्फी विरोध हुँदा पनि सरकार सचेत नभई महामारी निम्त्याउन उद्यत देखिएको अधिकारकर्मी आरडी ठाकुरले बताए । ‘हामी त रेड जोनमा छौं,’ यशोधरा गाउँपालिका अध्यक्ष गिरजेश पाण्डेले भने, ‘सरकारले हाम्रो जीवनसँग खेलबाड गरिरहेको छ ।’

अब समुदायमा संक्रमण फैलिए यसको जिम्मेवारी सरकारले लिनुपर्ने उनले बताए । परीक्षण नै नगरी संक्रमित छाडिनु राम्रो नभएको महाराजगन्ज नगरपालिका प्रमुख अब्दुलकलाम खाँले बताए । ‘यसले समुदायप्रति सरकारको जिम्मेवारी दिखिएन,’ उनले भने, ‘सरकार चुक्दै गएको छ ।’ मनाेज पाैडेलले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया