एजेन्सी , ९ असार : भारतीय योगगुरु बाबा रामदेवको पतञ्जली आयुर्वेद लिमिटेडले बजारमा ल्याएको कोरोना निको पार्ने औषधी ‘कोरोनिल’ को दाबी २४ घण्टा नबित्दै प्रतिबन्धमा परेको छ । भारत सरकारले आज उक्त कम्पनीले ल्याएको कोरोनिल औषधीको प्रचार प्रसारमा रोक लगाएको छ ।
मन्त्रालयले कम्पनीलाई यस किसिमको औषधी त्यसको विज्ञापन तत्काल रोक्न आग्रह गर्दै यो विषयमा राम्रोसँग अध्ययन अनुसन्धान भइनसकेकोले विज्ञापन गर्नु उचित नहुने जनाएको छ । पतञ्जलीले कोरोना उपचारका लागि भनेर बाहिर ल्याएको औषधीको वैज्ञानिक अध्ययन नभएको समेत मन्त्रालयले जनाएको छ ।
उक्त कम्पनीसँग मन्त्रालयले औषधीबारे सम्पूर्ण प्रमाणहरु (पूर्ण जानकारी) ल्याउन समेत निर्देशन दिएको छ । मन्त्रालयले औषधीबारे पूर्ण जानकारी दिन र औषधीमाथि प्रतिबन्ध लगाइएको जानकारी दिएको छ । मन्त्रालयले भनेको छ–‘औषधीमा सबै प्रकारका परीक्षण नगरी अर्को आदेश नहुञ्जलेसम्मका लागि प्रतिबन्ध भएको जानकारी गराइन्छ ।’