पर्वतमा भेटिएको दुर्लभ राजगोमनको संरक्षण शुरु

राष्ट्रिय समाचार समिति

पर्वत, १३ असार : पर्वतमा भेटिएको दुर्लभ किङ कोब्रा अर्थात् राजगोमन (कालीनाग) को संरक्षण गर्न थालिएको छ । पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीस्थित अलपेश्वर गुफा नजिकै भेटिएको सर्प दुर्लभ कालीनाग भएको पुष्टि भएपछि संरक्षण गर्न थालिएको हो ।

बुधबार कटुबाचौपारीका स्थानीयले उक्त सर्प भेटेपछि सर्प संरक्षक तथा सर्प विशेषज्ञको टिमलाई खबर गरेका थिए । स्थानीयको खबरपश्चात आएको विशेषज्ञको टोलीले उक्त सर्प पोथी कालीनाग भएको पुष्टि गरेका छन् ।

पोथी कालीनागले अहिले बच्चा जन्माउनका लागि फुल सेकेर बसेको अवस्था रहेको सर्प संरक्षक ऋषि बरालले बताउनुभयो । बरालका अनुसार उक्त सर्प पोथी कालीनाग भएको र अहिले त्यसलाई जुन ठाउँमा छ त्यहिँ ठाउँमा संरक्षण गरेर राख्नुपर्ने बताउनुभयो । फुल पारी सकेर बच्चा कोरल्नका लागि अहिले बसेका कारण अहिले अन्यत्र स्थानान्तरण गर्न नहुने भन्दै कालीनागलाई त्यही संरक्षण गरी राख्न थालिएको बताउनुभयो ।

यो सर्प संसारकै विषालु हुने हुँदा बच्चा जन्माउनको लागि फुल सेकेर बसेको कारण पनि अहिले त्यसलाई अन्यत्र लान नहुने उहाँको सुझाव छ । उहाँले सोही स्थानमा तारबेर लगाएर राख्ने र पछि बच्चा कोरलीसकेपछि मात्रै त्यसलाई संरक्षण क्षेत्रमा लगेर छोडिने बताउनुभयो । संरक्षण सूचीमा रहेको अत्यन्तै दुर्लभ अनि संसारकै विषालु यो राजगोमन अर्थात् पोथी कालीनागले समेत चिनिने यो किङ कोब्रा ११ फिट लम्बाइ तथा साढे नौ किलोग्राम तौलको रहेको छ ।

तराई क्षेत्रमा पाइने सो प्रजातिको सर्प कसरी यस क्षेत्रमा आइपुग्यो भन्ने अनुसन्धान गर्नुपर्ने सर्प संरक्षक बरालले बताउनुभयो । साना र सामान्य खालका सर्प मात्र देखिने गरेको यस क्षेत्रमा ठूलो प्रजातिको सर्प घर आसपास देखिएपछि स्थानीयवासी त्रसित बनेका छन् ।

यसअघि पनि पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारी र वडा नंं १२ ठूलीपोखरीमा किङकोब्रा भेटिएको थियो । उक्त किङकोब्रालाई सर्प संरक्षकले नियन्त्रणमा लिई बस्तीभन्दा टाढाको पर्वतकै घना जङ्गलमा छोडिदिएको थियो ।

प्रतिक्रिया