मयूर यातायातले चक्रपथ हुँदै धुलिखेलसम्म सेवा दिन थाल्यो

admin

काठमाडौं, २९ असार : सोमबारदेखि मयूर यातायातले काठमाडौं उपत्यकाको चक्रपथ र चक्रपथ हुँदै काभ्रेको धुलिखेलसम्म सेवा दिन थालेको छ ।

मयूर यातायात प्रालीका सञ्चालक राज श्रेष्ठका अनुसार सोमबार चक्रपथमा तीन वटा र चक्रपथ हुँदै धुलिखेलसम्म दुई वटा बस सञ्चालन भइरहेको छ, यो संख्या मंगलबारदेखि बढ्दै जानेछ । अहिले मयूर यातायातसँग ४४ वटा गाडी छ ।

‘मंगलबारदेखि १५ र २० वटा गाडी सञ्चालनका लागि तयारी भइरहेको छ, त्यसको लागि लकडाउनको क्रममा ठाउँठाउँमा रोकिएका गाडीलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ’ श्रेष्ठ भने ।’

मयूर यातायातले सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड अनुसार गाडी चलाएको पनि जनाएको छ । ४०-४१ सिट क्षमताको बसमा सोमबार २० जना यात्रुलाई मात्रै राखेर यात्रा गराइएको छ ।

यस्तै बस चढ्न मास्कलाई अनिवार्य गरिएको छ भने स्यानिटाइजर र पञ्जा पनि अनिवार्य लगाउन मयूर यातायात कम्पनीका सञ्चालक श्रेष्ठको आग्रह छ । उनले बसभित्रै स्यानिटाइजरको व्यवस्था गरेको जानकारी दिए ।

यसैगरी सरकारको निर्णयअनुसार नै यात्रुबाट भाडा लिने गरेको पनि सञ्चालक श्रेष्ठले बताए । सरकारले ५० प्रतिशतसम्म बढाएर भाडा लिन सकिने निर्णय गरेको छ । अहिल यात्रुबाट न्यूनतम भाडा २० रुपैयाँ लिने गरेको मयूर यातायातले जनाएको छ ।

गएको असार २३ गतेको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशतसम्म बढी भाडा लिएर र सुरक्षा सावधानी अपनाएर सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेको थियो । तर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भने सबै कर्मचारीको सुरक्षाको ग्यारेण्टी नभएसम्म गाडी नचलाउने जनाएको छ ।

प्रतिक्रिया