थप १५६ जनामा संक्रमण पुष्टि, हालसम्म ६६.२४ प्रतिशत कोरोनामुक्त

admin

काठमाडौं, ४ साउन : नेपालमा पछिल्लो २४ घण्टामा एक सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका २७ वटा प्रयोगशालामा भएको परीक्षणमा एक सय ५६ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिले नेपालमा सक्रिय र निको भएकासमेत गरी कोरोना पुष्टि हुनेको संख्या १७ हजार ६ सय ५८ रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ११ हजार ६९५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारसम्म संक्रमणमुक्त हुनेको संख्या ११ हजार ६९५ अर्थात ६६.२४ प्रतिशत पुगेको जानकारी दिए ।

उनका अनुसार आइतबार ५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । बितेको २४ घण्टामा २७ प्रयोगशालाबाट ३ हजार ७४१ जनाको नमुना परीक्षण भएको जानकारी दिए ।

यसैगरी हालसम्म भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला गरी ८ जिल्ला कोरोना संक्रमण मुक्त, रहेको गौतमले जानकारी दिए ।

प्रतिक्रिया