नेपाललाई सनातन हिन्दूराष्ट्रसहितको राष्ट्र घोषणा गर्नुपर्छ : नेता भण्डारी

admin

तनहुँ, ५ साउन : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शङ्कर भण्डारीले नेपाललाई हिन्दूराष्ट्र घोषणा गरिनुपर्ने बताएका छन् ।

व्यास नरपालिका-१० सिसुवा, भतेरीमा स्थानीय गाईको संरक्षण गर्न निर्माण गर्न लागिएको ट्रस्टको आइतबार शिलान्यास गर्दै उनले नेपालमा अधिकांश हिन्दू जनता भएकाले सनातन हिन्दूराष्ट्रसहितको राष्ट्र घोषणा गर्नुपर्नेमा जोड दिएका हुन् ।

धार्मिक भावना घट्दै गएकाले देशमा हत्या, हिंसा, बलात्कारजन्य घटना बढ्दै गएको बताउँदै उनले धर्मले सदाचारी नेता, नैतिकवान् कर्मचारी तथा शान्त समाज निर्माणमा सहयोग पुग्ने हुँदा हिन्दूराष्ट्रको संरक्षण गर्नुपर्ने धारणा राखे ।

नेपालमा करिब ६० प्रतिशत धार्मिक पर्यटक आउने गरेको र हिन्दूराष्ट्र घोषणा गर्दा यो संख्या अझ बढ्ने उनको विश्वास छ । विश्वको एकमात्र हिन्दूराष्ट्रभन्दा नेपाल सबै हिन्दूको आस्थाको केन्द्र बनाउनुपर्नेमा जोड दिए ।

लक्ष्मी पूजालगायतका हाम्रो धर्ममा गाई अनिवार्य आवश्यकपर्ने हुँदा यसको संरक्षणका लागि स्थानीय तहबाटै पहलकदमी गरिनुपर्ने उनको भनाइ थियो । उनले भने, “गौ मातालाई स्वास्थ्य राख्नका लागि पौष्टिक आहार व्यवस्था गर्नुपर्छ ।”

जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले गौ संरक्षणले फोहर र सवारी दुर्घटनामा न्यूनीकरण आएको बताए । व्यास नगरपालिका-१० का वडाध्यक्ष तुलसीराम सापकोटाले गाईलाई हेलाको दृष्टि हेर्न थालेकाले गाईको महत्वका बारेमा जनचेतना जगाउनु तथा गाईको मूत्र प्रशोधन गरेर औषधि बनाउनुपर्नेमा जोड दिए ।

भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको रु पाँच लाखको सहयोगमा ट्रष्ट निर्माण गर्न लागिएको हो । व्यास नगरपालिकाले केन्द्रका लागि रु १२ लाख सहयोग गरेको छ । केन्द्रमा हाल सानाठूला गरी ५० वटा गाई राखिएको छ । केन्द्र सञ्चालनका लागि करिब ३०० रोपनी सार्वजनिक जग्गा भएको वडाले जनाएको छ ।

प्रतिक्रिया