काठमाडौं, ६ साउन : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक फेरि स्थगित भएको छ । दिउँसो १ बजे बसेको बैठक केहिबेर बसेर स्थगित भएको हो ।
अविरल वर्षाका कारण देशभर आएको बाढी पहिरोमा परेकाहरुको उद्धार तथा राहतका लागि जान भन्दै पुनः आगामी साउन १३ गतेसम्मका लागि बैठक स्थगित भएको हो । नेकपाभित्रको विवादका कारण यसअघि पनि पटक पटक बैठक स्थगित हुँदै आएको थियो ।
मंगलबार केहिबेर बसेको बैठक साउन ६ गते १ः०० बजेसम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अविरल वर्षापछि देशभर आएको बाढी पहिरोमा प्रभावित बनेकाहरुको उद्धार र राहतमा खटिने निर्णय गरेको छ ।
बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बाढी पहिरोबाट प्रभावितहरुको उद्धार र राहतमा सम्पूर्ण पार्टी एकताबद्ध भएर लागिपर्ने निर्णय भएको बताए । बाढी र पहिरोका कारण हाल देशभरको जनजीवन प्रभावित भएको छ भने कतिपय स्थानमा राजमार्ग र पुल समेत भत्किएको छ ।
निर्धारित सयमभन्दा केही ढिला गरी प्रधानमन्त्री निवासमै बैठक शुरु भएपनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली भने बैठकमा सहभागी भएनन् । उनी सहभागी नहुनुको कारण खुल्न सकेको छैन ।
यस्तै स्थायी समिति सदस्य देव गुरुङले प्रधानमन्त्री सहभागी नभएपनि उनकै सहमतिमा बैठक बसेको दावी गरे । सो बैठकमा अन्य एजेण्डालाई थाती राखेर कार्यकारी अध्यक्ष दाहालले बाढी पहिरोबाट प्रभावित बनेकाहरुको उद्धार र राहतमा पार्टी पंक्ति लाग्ने प्रस्ताव लगेका थिए । सो प्रस्तावलाई पार्टीले एकमतले पारित गरेको हो ।
नेकपाभित्रको आन्तरिक राजनीतिक विषयमा भने विवाद कायमै छ । विवादकै कारण पटक पटक स्थायी समिति बैठक स्थगित हुँदै आएको थियो । प्रधानमन्त्रीको राजीनामाको माग भएपछि नेकपाभित्र विवाद चर्किँदै गएको हो । बैठक स्थगित गरेर सहमति जुटाउने प्रयास हुँदै आएपनि हालसम्म सहमति जुट्न सकेको छैन ।