मनसुनमा बाढी पहिरोको घटना बढि, केरुङ छ्यो ताल फुट्ने खतरा

अस्मिता बेल्बासे

काठमाडौं, ६ साउन : जल तथा मौसम विज्ञान विभागले हिउँददेखि नै औसतभन्दा बढी वर्षा भएकाले मनसुनमा बाढी पहिरोका घटना बढेको बताएको छ । हिउँदमा औसतभन्दा दुई सय ३० प्रतिशत बढी वर्षा भएको र मनसुनमा समेत एक सय ३० प्रतिशत बढी वर्षा भएकाले पहिरोका घटना बढेको विभागले जनाएको हो ।

विभागका महानिर्देशक सरजु वैद्यले हिउँदको वर्षाले जमिन भिजेको र गलिसकेका कारण मनसुन सुरु हुनेबित्तिकै ठाउँठाउँमा घटनाहरु घटेको बताएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा महानिर्देशक वैद्यले साउन ९ गतेसम्म मनसुन सक्रिय रहने र त्यसपछि क्रमिक रुपमा वर्षा कम हुने बताएका हुन् ।

गएको तीन दिनयता प्रदेश नम्बर २, ५ र गण्डकी प्रदेशमा एक सय ५० देखि दुई सय मिलिमिटर पानी परेको छ । मनसुन सुरु भएयता प्रदेश नम्बर १, २, र ५ मा औसतभन्दा दुई सय प्रतिशत बढी पानी परेको छ । विभागले कोशी नदीको चतरा, वाग्मती नदीको खोकना, नारायणी नदीको देवघाटमा खतराको तह पार गरेको बताएको छ ।

नारायणी नदीको देवघाट, अरुणको सिम्ले, तमोर नदी र त्रिवेणी नदीमा जल सतह खतराको तहमा पुगेकोले सतर्कता अपनाउन महानिर्देशक वैद्यले बताए । मंगलबार सुस्ता आसपास र तटीय क्षेत्रमा डुबानको जोखिम रहेको उनले बताए ।

आगामी तीन दिनसम्म प्रदेश नम्बर १, २, ५, वाग्मती र गण्डकी प्रदेशका नदीहरुमा बाढीको जोखिम रहेको विभागले जनाएको छ । विभागले बाढीको पूर्वसूचना समेत प्रदान गरिरहेको छ । मनसुन सुरु भएयता मात्रै ५० लाख १७ हजार दुई सय ३३ वटा मोबाइल एसएमएसमार्फत पूर्वसूचना दिइएको विभागले जनाएको छ ।

केरुङ छ्यो ताल फुट्ने खतरा
तिब्बतको खासामा रहेको केरुङ छ्यो ताल फुट्ने खतरा बढेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भोटेकोशी र सुनकोशी क्षेत्रको नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरेको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार यही सूचनाका आधारमा भोटेकोशी र सुनकोशी नदीका तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनिएको छ । केरुङ छ्यो ताल फुटे भोटेकोशी नदीमा बाढी आउने सम्भावना बढी छ ।

नेपालतर्फ सिन्धुपाल्चोकको तातोपानी क्षेत्रदेखि बाह्रबिसे, खाडीचौरसहित भोटेकोशी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा जान जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले यसअघि नै अनुरोध गरिसकेको छ । साथै प्रशासनले तल्लो तटीय क्षेत्रमा पर्ने भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका, चौतारा साँगाचोकगढी नगरपालिकाका नागरिकलाई सुरक्षाका उपाय अपनाउन सचेत गराएको छ ।

लगातार पानी पर्दा ताल भरिँदै जाने र पानी निकास हुने क्रममा कटान गर्ने भएकाले फुट्ने जोखिम हुने नेपालको हिमतालसम्बन्धी अनुसन्धानकर्ता श्रीकमल द्विवेदीले बताएका छन् । ‘ताल फुटेर आउने बाढीको बहाव अरु बाढीभन्दा ठूलो हुन्छ’, उनले भनेका छन् ‘यसले कमजोर जमिन काट्ने, ठूला भौतिक संरचनासमेत बगाउने र बग्दै जाने क्षेत्रका बस्तीलाई समेत क्षति गर्छ ।’

चीनले सोमबार खासा क्षेत्रमा रहेको केरुङ छ्यो ताल फुट्ने खतरा बढेको नेपाललाई जानकारी गराएको हो । खासा क्षेत्रमा निरन्तर पानी परिरहे जुनसुकै बेला ताल फुट्न सक्ने जोखिम छ । चिनियाँ प्रतिनिधिले फुट्ने खतरा औँल्याएको केरुङ छ्यो ताल खासाबाट केहीमाथि रहेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिएका छन् ।

जोखिम क्षेत्रमा रहेका पालिकाले समेत नदी तटीय क्षेत्रका बासिन्दालाई सम्भावित घटनाका बारेमा सूचना प्रवाह गरिरहेका छन् । २०७३ साल असार २१ गते खासा नजिकै रहेको ताल फुट्दा तातोपानी नाकाको लिपिङ बजार बगाएको थियो ।

साथै तल्लो तटीय क्षेत्रमा क्षति पुर्‍याएको थियो । त्यतिबेला झण्डै डेढ सय घर, संरचना बगाउँदा अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी सडकखण्ड समेत तहसनहस भएको थियो ।

प्रतिक्रिया