पहिरोले लमजुङमा १८ घर पुरिए

admin

लमजुङ, ७ साउन : अविरल वर्षाका कारण पहिरो जाँदा लमजुङमा १८ घर पुरिएका छन् । मर्स्याङ्दी गाउँपालिका-३ तरापु पल्लोटारी गाउँमा बुधबार बिहान पहिरोले १८ घर पुरिएका हुन् ।

त्यो ठाउँमा मंगलबार गएको कपासे खोलाको पहिरोमा थप पहिरो त्यही ठाउँबाट आएकोले घर पुरिएको वडाध्यक्ष प्रेम बस्नेतले बताए । पहिराले घर पुरिँदा सुजन अछामी, देवबहादुर सार्की, सिर्जना गोतामे घाइते भएको उनले जानकारी दिए ।

घाइतेमध्ये सिर्जनाको खुट्टा भाँचिएको, देवबहादुरको खुट्टाको गेडी भाँचिएको र सुजनको टाउकोमा चोट लागेको छ । घाइतेलाई बेँसीशहर नगरपालिका ८ मा रहेको जिल्ला सामुदायिक अस्पतालमा ल्याउने तयारी भइरहेको छ ।

मंगलबार नै त्यो पहिराले गाउँमा क्षति गर्न थालेपछि स्थानीयलाई अन्यत्र राखिए पनि उनीहरु बुधबार बिहान सामग्री निकाल्नका लागि आएका र त्यो पहिराले घाइते भएको वडाध्यक्ष बस्नेतले बताए ।

गाउँका ८० घरमा नै क्षति पुग्ने सम्भावना रहेको स्थानीयको भनाइ छ । जनप्रतिनिधि, प्रहरी, स्थानीयलगायतले यतिबेला पहिराले नपुरिएका घरमा रहेका सामग्री निकालिरहेका छन् ।

प्रतिक्रिया