आज पनि केही ठाउँमा ठूलो बर्षा, तीन दिनसम्म नारायणी नदीको बहाव बढ्न सक्ने

admin

काठमाडौं, ८ साउन : मौसमविद्ले बिहीबार पनि देशका केही ठाउँमा ठूलो पानी पर्ने बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलकाअनुसार अहिले बदली भएको धेरै ठाउँको मौसम दिउँसोपछि खुल्नेछ ।

तर बेलुकातिर फेरि बदली भएर पानी पर्ने संभावना छ । मनसुनी वायुको प्रभाव र मनसुनी न्यूनचापीय रेखा पश्चिमी नेपालबाट दक्षिणमा सरेको तथा पूर्वी भू-भागमा नेपाल नजिकै रहेकाले बिहीबार पनि केही ठाउँमा पानी पर्ने मौसमविद् पौडेलले जानकारी दिए ।

उनकाअनुसार बिहीबार प्रदेश १, २, ५, वाग्मती र गण्डकी प्रदेशका एक र दुई ठाउँमा भने ठूलो पानी पर्ने संभावना छ । पानी परे पनि नदीमा बाढी आउने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने तथा पानी निकास नहुने ठाउँ जलमग्न हुनसक्ने भएकाले नदी किनारमा नजान तथा भिरालो जमिनमा यात्रा गर्दा सतर्क हुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाकाअनुसार अहिले देशभरीकै मौसम आंशिकदेखि सामान्य बदली भई केही ठाउँमा पानी परिरहेको छ । विशेषगरी गण्डकी प्रदेश र प्रदेश ५ का केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी परिरहेको र अरु प्रदेशको मौसम सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तीन दिनसम्म नारायणी नदीको बहाव बढ्न सक्ने
अबको तीन दिनसम्म नारायणी र यसका सहायक नदीहरुमा पानीको बहाव बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका अन्य सबै प्रमुख र मझौला नदीहरुमा भने बहाव केही घटबढ हुने छ भने जलसतह सतर्कताभन्दा तलै हुने छ ।

शुक्रबार र शनिबार कन्काई, वाग्मती, तिनाउ, पश्चिम राप्ती र बबईका केही सहायक नदीमा आकस्मिक बहाव हुनसक्ने महाशाखाले अनुमान गरेको छ । अहिले पनि नारायणी नदीमा बाढी आइरहेको छ ।

बिहीबार कोशी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने तर सतर्कता तह तलै हुने छ । कालीगण्डकी नदीमा भने बहाव सतर्कता तह आसपास हुनेछ । बिहीबार कन्काई, कमला, वाग्मती, पश्चिम राप्ती, बबई नदीमा बहाव बढ्दो हुने, र सबैमा सतर्कता तह तलै हुने पूर्वानुमान छ ।

कन्काई, कमला वाग्मती पश्चिम राप्तीका केही सहायक नदीमा भने आकस्मिक बहाव हुनसक्ने सम्भावना छ । बिहीबार इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषालगायत प्रदेश २ का जिल्लाहरुमा बाढीको न्यून मात्रै सम्भावना छ ।

यसैगरी सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, रामेछाप काभ्रेपलाञ्चोक, नुवाकोट, काठमाण्डौ उपत्यका, गोरखा, धादिङ, लमजुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, चितवन, नवलपरासी, गुल्मी, पाल्पा, प्युठान, रुकुम, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा, र आसपास भई बहने नदीमा पनि आकस्मिक बहावको न्यून मात्रै सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया