प्रधानमन्त्री ओली र देउवाबीच भेट

admin

काठमाडौं, ८ साउन : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा लकडाउन खुलेपछिको चुनौती सामना गर्न नयाँ र विशेष रणनीति निर्माण गर्न सरकारलाई आग्रह गरिएको छ ।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सभापति देउवाले कोरोना संक्रमणको जोखिम र बाढी पहिरोले पुर्‍याएको क्षतिबारे ध्यानाकर्षण गराएका हुन् । विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने काममा तीव्रता दिन पनि सभापति देउवाले आग्रह गरे ।

लकडाउन गर्दासमेत कोरोना संक्रमितको संख्या २० हजार नजिक पुगेको अवस्थामा लकडाउन हटाइएको भन्दै उनले कोरोना परीक्षण पीसीआर प्रविधिमार्फत मात्रै गर्न, क्वरेण्टीन मापदण्डयुक्त बनाउने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराए ।

यस्तै बाढी पहिरोमा परेर देशका विभिन्न ठाउँमा धेरैको ज्यान गएको, अझै धेरै व्यक्ति बेपत्ता र घरबारविहीन भएकोले सरकारले उद्धार, राहत र पुनर्स्थापनाका लागि युद्धस्तरमा कार्य गर्नुपर्ने उनले बताए ।

यसैबीच विभिन्न क्षेत्रको असन्तुष्टि र आन्दोलनले अघि सारेका जायज मागलाई गम्भीरतापूर्वक लिएर सम्बोधन गर्न पनि सभापति देउवाले प्रधानमन्त्री ओलीसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया