निषेधाज्ञा जारी गरेको दोस्रो दिन राजविराज सुनसान, वीरगञ्जमा भोलिदेखि अनिश्चितकालीन बन्द

admin

जनकपुर, ९ साउन : संक्रमण समुदायमा फैलिने सम्भावना देखेपछि बिहीबारदेखि स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेपछि शुक्रबार दोस्रो दिन राजविराज बजार सुनसान देखिएको छ ।

जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिकाभर अर्को आदेश नभएसम्मका निषेधाज्ञा जारी गरेको हो । निषेधित क्षेत्रमा अत्यावश्यक काम बाहेकका सम्पूर्ण आवतजावत, सवारी साधन, पसल बन्द रहने प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यद्वारा जारी सूचनामा उल्लेख छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराज नगरपालिका क्षेत्रभित्र अनावश्यक हिँडडुल, आवतजावत नगर्न, नगराउन जिल्ला सुरक्षा समितिले निर्देशन जारी गरेको छ ।

औषधि पसल, खाद्यान्न, फलफुल तथा तरकारी, अस्पताल तथा स्वास्थ्यसेवा केन्द्र, मालसमान ओसारपसार गर्ने र निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैँकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डार र वितरण, फोहरमैला सङ्कलन तथा ढुवानी, विद्युतीय सेवा, कृषिजन्य कार्य, कृषि तथा पशुजन्य उत्पादन ढुवानीमा प्रयोग हुने साधन, वर्कशपजस्ता अत्यावश्यक सेवा बाहेकको सेवा र स्थलमा अनावश्यक आवतजावतमा निषेध गरिएको सूचनामा उल्लेख छ ।

वीरगञ्जमा भोलिदेखि अनिश्चितकालीन निषेधाज्ञा
जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको सर्वपक्षीय बैठकले साउन १० शनिबार बिहान ५ बजेदेखि वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

यसअघि बिहीबार जिल्लाको सुरक्षा समितिको बैठक बसेको थियो । सुरक्षा समितिको बैठकले बृहत् सर्वपक्षीय बैठकको माध्यमबाट निर्णय लिने भनेपछि शुक्रबार सर्वपक्षीय बैठक बसेको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कार्कीको अध्यक्षतामा भएको बैठकले लकडाउन, कर्फ्यु र निषेधाज्ञा के लगाउने भन्ने विषयमा छलफल भएको र निषेधाज्ञा जारी गर्ने कुरामा सबै एक भएको बैठकमा सहभागी नेकपा पर्साका अध्यक्ष प्रभू हजारले बताए ।

कोरोना भाइरसको संक्रमण समुदायस्तरमा देखिएको आशङ्कापछि स्थानीय प्रशासनले राजनीतिक दल व्यवसायीसहितको सर्वपक्षीय बैठक राखेर निषेधाज्ञाको निर्णय लिएको हो । कोरोना भाइरसको संक्रमण रोक्न आवत जावत र परीक्षणको दायरा बढाउँदै लैजाने निर्णय भएको छ ।

स्थानीय प्रशासन र पालिकाले आमनागरिकलाई सहयोग गर्नका लागि अपिलसमेत गरेको छ । वीरगञ्जमा शुक्रबार र बिहीबार गरी कोरोना भाइरसको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

७५ जना संक्रमितको गण्डकमा रहेको कोभिड अस्पतालमा उपचार भइरहेको छ भने दुई जनालाई आईसीयूमा राखेर उपचार भइरहेको अस्पतालका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए ।

प्रतिक्रिया