लाइसेन्स आवेदन दुुई महिनापछि मात्र

admin

काठमाडौं, १३ साउन : सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन दुई महिनापछि खुला हुने भएको छ । तत्काल नयाँ आवेदन खुला गर्दा सेवाग्राहीको भीड बढेर र कोरोना (कोभिड–१९) सङ्क्रमण फैलन सक्ने भएकाले दुई महिनापछि मात्र खुला गर्ने योजना रहेको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, “मुख्य त कोरोनाकै कारण तत्काल खुला नगरिने भएको हो । खुला गर्नासाथ मान्छेको चाप बढ्छ । भीड बढी भएपछि कोरोना फैलने सम्भावना हुन्छ । ” बन्दाबन्दी अघिदेखि नै नयाँ आवेदन रोकिएको हँुदा सेवाग्राही ठूलो सङ्ख्या एकै पटक आउन सक्ने सम्भावना रहेको हमालको भनाइ छ ।

विभागका अनुसार निरन्तर रूपमा खुला गरिएको दिन सामान्य दिनमा देशभर दैनिक पाँचदेखि आठ हजारसम्म नयाँ आवेदन पर्थे । लामो समय बन्द भएकाले सेवाग्राहीको चाप बढ्ने निश्चित छ । सम्भावित भीड व्यवस्थापन गर्ने गरी दुई महिनापछि खुला गरिने विभागले जनाएको छ

यातायात व्यवस्था विभागले कोरोनाको बन्दाबन्दीमा बाँकी रहेका करिब सात लाख स्मार्ट लाइसेन्स प्रिन्ट गरेको छ । गत माघमा बाँकी रहेका सात लाख स्मार्ट लाइसेन्स छ महिनामा सक्ने गरी काम सुरु गरिएको थियो तर कोरोनाले नयाँ आवेदन रोक्का भएपछि बाँकी रहेको काम गर्न सजिलो भएको विभागले जनाएको छ ।

यस अवधिमा सात लाख स्मार्ट लाइसेन्स प्रिन्ट भएको र अब ४०–४५ हजार लाइसेन्स साउनसम्म सक्ने तयारी गरिएको छ । विभागले बन्दाबन्दीमा प्रिन्ट भएका लाइसेन्स वितरणका लागि सम्बन्धित यातायात कार्यालयमा पठाइएको छ ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया