नेता गौतमको प्रस्ताव : दाहाललाई कार्यकारी अधिकारसहितको अध्यक्षको जिम्मेवारी

admin

काठमाडौं, १३ साउन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधिसभाको यो कार्यकालभरि केपी शर्मा ओली नै प्रधानमन्त्री रहने र एकता महाधिवेशन नहुञ्जेल अध्यक्षमा पनि कायम रहने गरी सहमतिको प्रस्ताव पेश गरेका छन् ।

उपाध्यक्ष गौतमले सहमतिका लागि ६ बुँदे प्रस्ताव पेस गरेका हुन् । उनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारी दिने प्रस्ताव पनि गरेका छन् ।

पार्टीको विग्रह तत्कालका लागि रोक्न भन्दै गरिएको प्रस्तावमा प्रधानमन्त्री ओलीका दैनन्दिनका कामहरुमा पार्टीले हस्तक्षेप नगर्ने तर राष्ट्रिय अन्तर्राष्ट्रिय महत्वका विषयमा निर्णय गर्नुअघि पार्टीको सचिवालयमा छलफल गर्नुपर्ने उल्लेख छ ।

यस्तै पार्टी सचिवालयको सुझाव र परामर्शमा मन्त्रिपरिषद्को पुनर्गठन र राजनीतिक तथा संवैधानिक नियुक्ति गर्ने तथा आउँदो दिनमा पार्टीको बैठक पार्टी कार्यालयहरुमा गर्ने प्रस्ताव छ ।

संसदमा नीति तथा कार्यक्रम र बजेट ल्याउनुअघि पार्टी सचिवालयमा परामर्श लिनुपर्ने पनि उनको प्रस्ताव छ । पार्टीको एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने पनि नेता गौतमको प्रस्तावमा उल्लेख छ ।

प्रतिक्रिया