बाढीका कारण बाँकेका १ सय १४ गाउँ बाढीको उच्च जोखिममा

admin

बाँके, १४ साउन : राप्ती नदीलगायत अन्य साना ठूला खोलामा आउने बाढीका कारण बाँकेका एक सय १४ गाउँ उच्च जोखिममा परेका छन् ।

आठ पालिकामा पर्ने ३५ वडाका एक सय १४ गाउँ राप्ती नदी, डुडुवा खोला, मानखोलालगायत साना-ठूला खोलामा आउने बाढीको उच्च जोखिममा रहेको नक्साङ्कन गरिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका स्रोत व्यक्ति गौरीलाल बुढाथोकीले जानकारी दिए ।

बाँकेमा सबैभन्दा धेरै राप्तीसोनारीका नौवटै वडाका ४३ गाउँ बाढीको उच्च जोखिममा रहेका छन् । वडा नम्बर १ मा पर्ने सिक्टा, जरुवा, बैरिया, ओजखोला, चप्परगौडी र तितेनघारी, वडा नम्बर २ का मदुवा, हरिहरपुर, औरहवा, टिकुलीपुर, शमशेरगञ्ज, बेलबास र राजपुर तल्लोबस्ती बाढीको उच्च जोखिममा रहेको उनले बताए ।

राप्तीसोनारी गाउँपालिका ३ का शाहीपुर, नवलपुर, बैसा, गर्लाबास, सिनाबास र परसरामपुर, वडा नम्बर ४ का लालपुर, धामपुर र भगवानपुर, वडा नम्बर ५ का ललही, आलीनगर, पठरिया, रिहार डाँडा र चिलहरिया पनि राप्ती नदीको उच्च जोखिममा रहेको बुढाथोकीले बताए ।

राप्तीसोनारीको ६ नम्बर वडाका खल्लाटेपरी, गोडियनपूर्वा, वडा नम्बर ७ का खल्ला झगडिया, वसन्तापुर, भवनियापुर, पहाडीपुर, देउपुर्वा, पिप्रहवा, गेदवा, सोनपुर पनि राप्ती नदीको उच्च जोखिममा रहेका छन् ।

यसैगरी वडा नम्बर ८ का बालापुर, पेरानी र वडा नम्बर ९ का ढकेरी र महादेवा गाउँ पनि बाढीको उच्च जोखिममा रहेका छन् । राप्तीसोनारीपछि दोस्रोमा नरैनापुर गाउँपालिकाका पाँच वटा वडाका २० गाउँ बाढीको जोखिममा रहेका छन् ।

नरैनापुरका बानियागाउँ, महतनिया, सुइया, वहाउँपूर्वा, कोटिया, कोदीपुर, रतेहिया, घोडदौरिया, नौसहरा, नरैनापुर, दौलतपुर, मटेहिया, जमुनाहा, भगवानपुर, निवाजीगाउँ, सोनवर्षा, कुदरबेटवा, गङ्गापुर, भोजपुर र जमुनी गाउँ बाढीको जोखिममा भएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका स्रोत व्यक्ति बुढाथोकीले जानकारी दिए ।

डुडुवा गाउँपालिका १ को पिप्रहवा, कृषि चौफेरी, पाझा, खडैचा र टेपरी, वडा नम्बर २ को सन्तलिया, अमृतपूर्वा, भेलोरपूर्वा, दासपूर्वा, खोलमसाहा, बाबागाउँ, कैरातीपूर्वा, कोहली र वडा नम्बर ३ को रमपूर्वा, कटैहया, हलकारापूर्वा, लोधपूर्वा र राजापूर्वा पनि राप्ती नदी र डुडुवा खोलाको उच्च जोखिममा रहेका गाउँ हुन् ।

डुडुवा गाउँपालिका ४ का खालेमसाहा र लालापूर्वा, वडा नम्बर ५ का खजुरागौडी, लडियाघाट, सिधनिया तल्लोबस्ती, लिवाङ्गी टोल र शिवराजपुर राप्ती नदी र डुडुवा खोलाको उच्च जोखिम क्षेत्रभित्र पर्दछन् ।

जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले खजुरा गाउँपालिकाको वडा नम्बर ५ र ६ का सात वटा गाउँ मानखोला र पेडारी खोलामा आउने बाढीको उच्च जोखिममा रहेको नक्साङ्कन गरेको छ ।

वडा नम्बर ५ र ६ का गिजरा, पुरैना, दसबिघा, आठबिघा, बाह्रबिघा, शान्तिनगर र सल्यानी टोली बाढीको उच्च जोखिममा रहेको गाउँ हुन् । खजुरा गाउँपालिका २ को गुराँसपुर पनि बाढीको जोखिमयुक्त गाउँमा पर्दछ ।

कोहलपुर नगरपालिकाको वडा नम्बर १०, ११, १२ र १४ का कालिकानगर, मुक्त कमैया टोल, चप्परगौडी र बजारटोल रोहिणी र डुडुवा खोलाको कटानका कारण जोखिममा रहेको केन्द्रले जनाएको छ ।

बैजनाथ गाउँपालिका वडा नम्बर २, ३, ४, ५, ६, ७ र ८ वडाका मकैबारी, जबदहवा, रामपुर, कलरामपुर, बानियाभार, इटा नाला, जनमत टोल, छमनिया, गरही, परशरामपुर सम्झनाबजार, गुरुवागाउँ, सिंहभवानी, गरही पनि बाढीको जोखिममा रहेको केन्द्रले जारी गरेको नक्साङ्कनमा उल्लेख छ ।

जानकी गाउँपालिकाको वडा नम्बर १ को साइगाउँ, शिवपुरी, पचपोखरा, बढैया गाउँ बाढीको उच्च जोखिममा रहेका छन् । यसैगरी नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर २० मा पर्ने मदनापुर डुडुवा खोलाको जोखिममा रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

बाढीको उच्च जोखिममा रहेका गाउँमा क्षति हुन नदिन पालिका र जिल्ला आपत्कालिन कार्य सञ्चालन केन्द्रले आवश्यक पूर्वतयारी गरेका छन् । कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले रोहिणी र डुडुवा खोलाको कटान रोकथामको लागि नगरपालिकाले अस्थायी तटबन्ध निर्माण गरी रोक्ने कार्य गरेको बताउँदै ठूलो क्षति पुर्‍याउने खतरा रहेकाले उद्धार तथा राहतको पूर्वसतर्कता र तयारी गरिएको बताए ।

डुडुवा र रोहिणी खोलामा आएको बाढीले तीव्र रुपमा कटान गरिरहेकाले खोलाको छेउमा रहेको बस्ती जोखिममा परेको छ । बस्ती बचाउन कोहलपुर नगरपालिकाले मात्रै नसक्ने भएकाले प्रदेश र केन्द्रीय सरकारलाई पनि सहयोगको लागि पहल गरिएको नगरप्रमुख रावतको भनाइ छ ।

बाढीको उच्च जोखिममा रहेका गाउँ र ठाउँको पहिचान गरी उद्धार, राहत तथा पूर्वसूचनासहित पूर्वतयारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।

‘बाढीबाट हुने क्षति न्यूनीकरण गर्न उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको छ, उद्धार गरिएका व्यक्तिलाई सेल्टरमा राख्ने र बाढीमा परेका व्यक्तिको उद्धारका लागि प्रयोग हुने हेलिकप्टर बस्ने हेलिप्याड निर्माण गरिएको छु, प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले भने, ‘क्षति हुन नदिन सबै खालका उपाय अवलम्बन गरिएको छ ।’

उनले पहाडी क्षेत्रमा भारी वर्षा भइ बबई र पश्चिम राप्ती नदीको बहाव उल्लेख्य बढ्न सक्ने हुँदा तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोधसमेत गरे ।

प्रतिक्रिया