भिजेको रासन खाँदै विस्थापित

admin

कैलाली, १९ साउन : भजनी नगरपालिका–८ कृष्णनगरकी निर्मला शाहीले चार दिनपछि शनिबार मात्र हुलाकी सडकमा भात पकाएर खान पाइन् । बाढीबाट ज्यान जोगाउन उनको चार जना परिवारको बास बुधबारदेखि नै सडकमा छ । पानीको सतह घटेपछि घरबाट भिजेको रासन ल्याएर उनले खाना पकाउन पाएकी हुन् ।

‘घर त डुबानमै छ,’ उनले भनिन्, ‘भोकै मर्ने भएपछि केही बचेको छ कि भनेर कम्मरसम्मको पानी तरेर बूढा घरसम्म गए, भिजेको चामलको कट्टा फेला पर्‍यो । त्यही उठाएर ल्याए । अहिले सडकमा सुकाएर खाँदै छौं ।’

बुद्धिराम चौधरीको सात जनाको परिवारले ट्रयाक्टरको ट्रलीमुनि रात काटेको चार दिन बित्यो । संयोगले बाढी आएको दिन उनले ट्रयाक्टर सडकमा राखेका थिए । ‘बुधबार बिहान ११ बजे गाउँमा बाढी पस्यो,’ उनले भने, ‘त्यतिबेला दौडँदै घरमै रहेका लालाबाला उठाएर ट्रयाक्टर भएको ठाउँमा ल्याएँ । सडकमाथि बाढी चढ्न नसक्दा ज्यान जोगिएको छ ।’ मंगलबार रातिदेखिको वर्षाले पथरिया र काँडा नदीको बाढी गाउँ पसेको थियो । बाढी पसेर डुबान भएपछि केहीले मात्रै सामान निकाल्न भ्याए, धेरैजसो रित्तै भागेर ज्यान जोगाए । अधिकांशलाई उद्धारकर्मीले दिउँसो मात्रै सुरक्षित ठाउँमा सारेका थिए ।

हुलाकी सडकमै बसिरहेकी भजनी–८ काँडाढिककी अञ्जली विकको ५ महिनाको बच्चा छ । उनका पति हुलाकी सडकमै अटोरिक्सा चलाउँथे । बाढी आएका दिन अटोरिक्सा सडकमै राखेर सुत्केरी श्रीमतीको उद्धार गरे । चार दिन भयो दुवै जनाको बास अटोमै छ । ‘बच्चालाई लामखुट्टे र कीराले टोकेर शरीरभरि खटिरा निस्केको छ,’ उनले भनिन्, ‘आफूले खान नपाएर दूध सुकेकाले बच्चाले पेटभरि पाएकै छैन ।’

भजनी–८ कृष्णनगरकी लक्ष्मी शाहले पनि बच्चालाई जोगाउन गाह्रो भएको बताइन् । उनका साथमा ४ महिनाको छोरा छ । ‘ओढ्ने–बिछ्याउने केही छैन । एउटा म्याटमा सुत्नुपरेको छ,’ उनले भनिन्, ‘रातभरि कीरा र मच्छडले टोक्छ । बाढीले सर्प पनि सडकमै देखिन्छन् ।’

सडकमा बालबालिका, बूढापाका, सुत्केरी, गर्भवती र अशक्तलाई बस्न कठिन भइरहेको बुद्धिराम चौधरीले बताए । ‘बच्चा र बुहारीकै लागि चौथो दिन ज्यानको बाजी लगाएर कम्मर–कम्मरसम्म पानी तरेर घरभित्र पसें,’ उनले भने, ‘डुबेको घरबाट भिजेकै भए पनि रासन र एउटा खाट निकालेर ल्याइयो । अहिले जाउलो पकाएर बच्चा र सुत्केरी बुहारीलाई खुवाएको छु ।’

शनिबारदेखि वर्षा रोकिएकाले बस्ती आसपासका पथरिया, काँडा, कान्द्रा र मोहना नदीमा जलसतह घटेको छ । भजनी–३, ५, ७ र ८ बाहेकका विस्थापित परिवार घर फर्किसकेका छन् । भजनी नगरकी उपप्रमुख छाया देवकोटाले नगरपालिकाका ९ वटै वडाका २ हजार ४ सय १५घर डुबानमा परेको बताइन् ।

विस्थापित भएकामध्ये१ हजार ६ सय ७१ परिवारका ८ हजार ३ सय ५ जनाअझै घर फर्कन नसकेको उनले बताइन् । ५ सय जना स्थानीय विद्यालय र सुरक्षित आवासगृहमा छन् । अन्य सबै हुलाकी सडकमा बसेका छन् । भजनी–८ का नैन जोशी र नन्दराज ढुंगानाको परिवारले चार दिनसम्म ओत पनि नपाएको गुनासो गरे ।

शनिबार मात्रै वडा कार्यालयले त्रिपाल, बाल्टी र चाउचाउलगायत उपलब्ध गराएको थियो । उपमेयर देवकोटाले विस्थापित परिवारलाई एक महिनाका लागि खाद्यान्न, लत्ताकपडा र भाँडाकुँडा चाहिने बताइन् । ‘बालबालिका, सुत्केरी, गर्भवती, अशक्तलाई सुरक्षित आवास, शुद्ध खानेपानी, साबुन, मास्क, सेनिटाइजर, जीवनजलका साथै घुम्ती स्वास्थ्य शिविरको समेत आवश्यकता पर्ने उनको भनाइ छ ।

डुबानको एउटा मुख्य कारण हुलाकी सडक रहेको त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सांसद गौरीशंकर चौधरीले बताए । ‘हुलाकी सडक ड्याम जस्तो भएकाले बाढीको स्वाभाविक बहाव हुन पाएन,’ उनले भने, ‘हुलाकी सडकले पानीको निकासका लागि पुल निर्माण गर्न‘पर्ने ठाउँमा कल्भर्ट मात्रै बनाइँदा निकास राम्रोसँग भएन ।

’ हुलाकी सडकको यो क्षेत्रमा कम्तीमा तीन ठाउँमा पुल निर्माण गर्न‘पर्ने उनको भनाइ छ । यहाँबाट करिब ३० किलोमिटर दक्षिण भारतले निर्माण गरेको कैलाशपुरी बाँधका कारण पनि कैलालीको पूर्वोत्तरक्षेत्र डुबानमा पर्ने गरेको उपमेयरदेवकोटाले बताइन् ।

स्थानीय संरक्षणकर्मी विजय श्रेष्ठले चुरे क्षेत्र र खोलानालामा भएको जथाभावी दोहनले बाढीको समस्या निम्तिएको बताए । ‘२० वर्षअघि २० मिटर फराकिलोमा बग्ने खोला/नदीहरू अहिले २ सय मिटर चौडा भएका छन्,’ उनले भने, ‘चुरेबाट बग्ने साना–ठूला गरी ४ सय नदीले कैलाली जिल्ला डुबानमा पार्ने गरेका छन् ।’

जिल्लाका मुख्य ठूला मोहना, खुटिया, गौरीगंगा, कान्ध्रा, पथरिया, काँडालगायतका नदीमा आउने बाढीले बर्सेनि समस्या निम्तिने गरेको छ । माेहन बुढाएरले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया