नेवारहरुको मौलिक पर्व ‘गाईजात्रा’

अस्मिता बेल्बासे

काठमाडौं, २० साउन : भदौ कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने गाईजात्रा पर्व आज (मंगलबार) सुरु भएको छ । ‘गाईजात्रा’ नेवारहरुको मौलिक पर्व हो । गाईजात्रालाई साधारणतय मृतकको सम्झनामा गाई, झाँकी, व्यङ्ग्य, प्रहसनलगायत प्रदर्शन गर्ने दिन भनेर समेत बुझ्ने गरिन्छ ।

गाईजात्रामा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर परिक्रमा गराइन्छ । यसरी नगर परिक्रमा गराउँदा मृतकको आत्मा गाईको पुच्छर समाएर वैतरणी पार हुन्छ भन्ने धार्मिक विश्वास छ ।

तत्कालीन राजा प्रताप मल्लले पुत्रशोकमा रहेकी आफ्नी रानीलाई अरु धेरैले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन वर्षभरि निधन भएका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउन आदेश दिएअनुसार गाईजात्रा सुरु भएको किंवदन्ती छ ।

गाईजात्रामा गाईको झाँकीले नपुगेर रानी खुसी पार्न व्यङ्ग्य, प्रहसन जस्ता क्रियाकलाप गर्दा रानी खुसी भएकाले उक्त समयदेखि यो दिन बर्सेनि हाँसो, मजाकसमेत गर्ने गरिएको इतिहासमा पढ्न पाइन्छ । हिन्दू धर्मअनुसार यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृत आत्माले यमलोक प्रवेश पाई मुक्ति पाउने गरुड पुराणमा उल्लेख छ ।

वाक् स्वतन्त्रताको रूपमा समेत सदुपयोग हुँदै आएको गाईजात्रालाई प्रहसन, राजनीतिक, सामाजिक विकृतिप्रति व्यङ्ग्य गर्ने पर्वका रूपमा समेत लिने गरिएको छ । जनै पूर्णिमाको भोलि पल्टदेखि अष्टमीसम्म ८ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव पनि हो ‘गाईजात्रा’ ।

यो पर्वमा हाम्रा कलाकारहरु राजनीतिक घोचपेच गर्ने, सामाजिक विषयवस्तु माथि तीखो व्यङ्ग्य प्रहारका कार्यक्रम गर्ने, व्यङ्ग्यले भरिएको अडियो, भिडियो प्रहसन निकाल्नेदेखि लेख रचना प्रकाशनसमेत गर्दछन् । नेवार समुदायको बसोबास रहेका देशका विभिन्न शहरमा गाईजात्रा मनाइन्छ ।

तर यसपाली कोरोना भाइरस संक्रमण जोखिम बढ्दै गएकाले सचेत रहन सरकारले आग्रह गरेको छ । भिडभाड नगर्न र धर्मकर्मका कार्यमा तोकिएकाभन्दा बढी भेला नहुन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । गाईजात्राका अवसरमा काठमाडौं उपत्यकामा आज सार्वजनिक बिदा दिइएको छ ।

प्रतिक्रिया