तीन सय ५४ जना बालबालिकालाई दादुरा र रुबेला संक्रमण, २ जनाको ज्यान गयो

admin

काठमाडौं, २० साउन : गएको ६ महिनामा साढे ३ सय बालबालिकालाई दादुरा र रुबेला संक्रमण भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको बाल स्वास्थ्य महाशाखाका खोप प्रमुख डा. झलक शर्मा गौतमकाअनुसार गएको ६ महिनामा साढे ३ सय बालबालिकालाई दादुरा र रुबेला भएको हो ।

जसमध्ये ३ सय ४० जना दादुरा र १४ जनालाई रुबेला भएको उनले जानकारी दिए । ६ महिनामा दादुराका कारण २ जना बालबालिकाको ज्यान गएको छ । यो वर्ष धादिङ, गोर्खा, मकवानपुर, काठमाडौं, ललितपुर, सर्लाही र झापामा दादुरा धेरै पटक फैलिएको थियो ।

कोरोना भाइरस महामारीका कारण गरिएको लकडाउनका कारण खोप सेवा प्रभावित भएकाले दादुरा र रुबेलाको प्रकोप फैलिएको बाल स्वास्थ्य महाशाखाका खोप प्रमुख डा. गौतमले बताए । तर अहिले खोप अभियान पूरा भएको र अरु खोप पनि नियमित भइसकेकाले अब बालबालिकालाई दादुरा र रुबेला कम हुने उनको अनुमान छ ।

दादुरा र रुबेलाको फैलिएको जिल्लामा भने अभियानको रुपमा थप खोप कार्यक्रम पनि सञ्चालन गरिएको उनको भनाइ छ । अब खोप नियमित भएकाले सबै बालबालिकालाई अरु खोप जस्तै दादुरा र रुबेलाको खोप पनि अनिवार्य लगाउन डा. गौतमले आग्रह गरेका छन् ।

कुनै ठाउँमा एक जना बच्चा मात्रै खोप लगाउन छुटे, वरपरका अरु बालबालिकामा पनि दादुरा फैलने खतरा हुन्छ । बालबालिकालाई दादुरा र रुबेला हुन नदिन आ-आफ्ना बालबालिकालाई खोप लगाएर सहयोग गर्न बाल स्वास्थ्य महाशाखाका खोप प्रमुख डा. झलक शर्मा गौतमले आग्रह गरे ।

प्रतिक्रिया