उपत्यकामा ६२ सहित २५९ जनामा संक्रमण पुष्टि, कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुग्यो

admin

काठमाडौं, २० साउन : मंगलबार उपत्यकामा ६२ सहित २५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

नयाँ संक्रमितमा काठमाडौंका ४८, भक्तपुरका १३ र ललितपुरका १ जना रहेसँगै देशभर संक्रमितको कुल संख्या २१ हजार ९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै हालसम्म १५ हजार २६ जना कोरोनामुक्त भएका छन् । अहिले देशभरी जम्मा ५ हजार ९ सय २५ जना संक्रमित उपचाररत रहेका छन् । जसमा प्रदेश नम्बर १ मा ३ सय ३४, प्रदेश नम्बर २ मा २ हजार ४ सय २७, बागमती प्रदेशमा ७ सय १६ र गण्डकी प्रदेशमा २ सय ६३ जना संक्रमित उपचाररत रहेका छन् ।

प्रदेश नम्बर ५ मा ३ सय ३५ ,कर्णाली प्रदेशमा २ सय ९५ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय ५५ जना उपचाररत रहेको प्रवक्ता डा. गौतमले बताए । काठमाडौं उपत्यका भित्रिने विभिन्न नाकाहरुमा गरिएको परीक्षणमा ४० जनामा कोरोना पोजेटिभ देखिएको छ ।

उपत्यका भित्रिने साँगु, नागढुंगा र फर्पिङ नाकाबाट १० हजार ८ सय ५३ नमुना संकलन गरिएकोमा नागढुंगामा १६, साँगामा १३ र फर्पिङमा ११ जना गरी ४० जना जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले बताए ।

हालसम्म पीसीआर विधिबाट ४ लाख ६ हजार ५ सय वटा परीक्षण भएका छन् । साथै बितेको २४ घण्टामा थप एक जनाको मृत्यु भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ ।

प्रतिक्रिया