बाँके, २१ साउन : बाँके राष्ट्रिय निकुञ्जले नेपालमा पहिलो पटक जङ्गली जनावरका लागि निर्माण गरेको पुल सञ्चालनमा आएको छ । बाँदर र न्याउरी मुसोले आफ्ना लागि बनाएको पुलको उपयोग गर्दै आएको निकुञ्जले बताएको छ ।
निकुञ्जमा जनावरले राजमार्ग वारपार गर्दा हुने दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यका साथ बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने राजमार्गमा पुल प्रयोगमा ल्याइएको निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेले बताए ।
बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व-पश्चिम राजमार्ग ७२ किलोमिटर लामो छ । त्यस्तै कोहलपुरदेखि बबईसम्मको राजमार्गको लम्बाइ ३० किलोमिटर छ ।
उनले भने, ‘निकुञ्जमा प्रयोगात्मक रूपमा ६ वटा यस्ता पुल बनाइएको छ । बाँदर प्रजातिका जनावरलाई लक्षित गरेर निर्माण गरिएको पुलको प्रयोग लोखर्के, बाँदर र न्याउरी मुसोलगायतका जनावरले प्रयोग गरिरहेका छन् । यसले गर्दा सवारी दुर्घटना र जीवजन्तु सवारीमा परेर मर्ने क्रम रोकिएको छ ।’
यस निकुञ्जमा राजमार्गको दूरी लामो भएको र सवारी साधनको चाप बढ्दै गएका कारण जनावरका लागि पुल निर्माण गरिएको बताइएको छ । निकुञ्ज आसपासमा क्यामरासहित पाँच स्थानमा ६ वटा पुल राखिएको निकुञ्जले जनाएको छ ।
निकुञ्जका अनुसार पाँच वर्षको अवधिमा सडक दुर्घटनामा दुई सय ६४ जनावरको मृत्यु भएको छ । गएको वर्ष दुर्घटनाको जोखिममा परेका चार सय ३१ वन्यजन्तुको उद्धार गरिएको निकुञ्जले जनाएको छ ।
खाद्यान्न ढुवानी गर्ने सवारीबाट खसेका वस्तु र यात्रुले जथाभाबी फ्याँकेका खानेकुरा खान जाँदा केही जनावर गाडीको ठक्करले मारिएको निकुञ्ज अधिकृत न्यौपानेले बताए ।
पुल निर्माणपछि यस वर्ष भने सवारी दुर्घटनाबाट मारिने वन्यजन्तुको सङ्ख्यामा कमी आएको बताउँदै उनले भने, ‘यस वर्षमा पाँच वटा स्याल, तीन वटा चित्तल, तीन वटा गिलहरी, दुई वटा बाँदर, तीनरतीन वटा सरीसृप र हरिणलगायतका जङ्गली जनावर दुर्घटनामा मारिएका थिए ।
निकुञ्जले यसलाई परीक्षणको रुपमा लिएको बताउँदै उनले भने, ‘६ महिनासम्म यसको अनुगमन गरिनेछ र त्यसको आधारमा थप पुल निर्माण गर्न सकिनेछ’, उनले भने ।