नेकपा सचिवालय बैठक सकियो, चारवटा कार्यसूची तयार

तुलसी नेपाल

काठमाण्डौ: ४ असोज – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । आइतबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले आगामी बैठकका लागि चार वटा कार्यसूची तय गरेको छ ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकको कार्यसूचीबारे जानकारी दिँदै बैठक भोली १ बजे पेरिसडाँडामा बस्ने जानकारी दिए ।

उनले आजको बैठकले यसअघि बसेको स्थायी कमिटी बैठकको निष्कर्ष र निर्णयलाई कार्यान्वयन गर्नेविषयमा छलफल भएको बताए । उनले सरकारलाई अझै प्रभावकारी बनाउने विषयमा छलफल भएको जानकारी दिए ।

‘आजको बैठकले चार वटा कार्यसूची तय गरेको छ । मन्त्रिपरिषद् पुर्नगठन स्थायी कमिटीको निर्णयअनुसार गर्ने विषयमा नीतिगत रुपमा सुझाव दिएको छ । त्यसबारेमा व्यक्तिका नामबारे प्रवेश गरेका छैनौं । आज नीतिगत रुपमा विभिन्न कोणमा सुझाव दिएका छौं’, उनले भने, ‘संवैधानिक राजनीतिक नियुक्तीका बारेमा सरकारलाई सजिलो बनाउने विषयमा छलफल गर्ने कार्यसूची तय गरेको छ । सांगाठनिक रुपमा बाँकी कामबारे पूरा गर्ने, स्थायी कमिटीको रिक्त रहेको पदपूर्ती, पहिले बाँकी रहेका कारबाहीका बारेमा छलफल, केन्द्रीय कमिटीका सदस्यलाई आर्थिक सहयोग सचिवालय बैठकको कार्यसूचीमा छ । संघीय संसदको सदस्यहरुले कोरोनाको सन्र्दभमा बैठकको भत्ता के गर्ने भन्ने विषयमा भोलीको बैठकमा छलफल हुनेछ ।’

प्रतिक्रिया