दशैँका लागि खसी-बोका घटस्थापनाको भोलिपल्टबाट बिक्री हुने

admin

काठमाडौं, असोज २६ : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले घटस्थापनाको भोलिपल्टदेखि काठमाडौंमा खसीबोका र च्याङ्‍ग्राको बिक्री सुरु गर्ने भएको छ। त्यसका लागि खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए।

कम्पनीले मुस्ताङबाट एक हजार च्याङ्‍ग्रा तथा दाङ र मकवानपुरबाट एक हजार खसीबोका ल्याएर विक्री गर्ने तयारी गरेको छ। तर च्याङ्‍ग्रा ल्याउनका लागि भने समस्या देखिएको खनालले बताए। ‘मूल्य पनि बढेको छ, पाउन पनि मुश्किल परेको छ, खनालले भने, तैपनि हामीले अलि बढी मूल्य तिरेर भएपनि ल्याउने प्रयास गरिरहेका छौं।’

गत वर्ष ५ सय ४० रुपैयाँ प्रतिकिलो तिरेर ल्याइएको च्याङ्‍ग्रा यस वर्ष मुस्ताङमै ६ सय रुपैयाँ पर्ने खनालले बताए। खसीबोका खरिदमा भने कुनै समस्या नरहेको उनले बताए। यसैबीच, कम्पनीले संचालन गरेका सुपथ मूल्यका पसलमा गत वर्षको जस्तो बिक्री नभएपनि ठूलो गिरावट नआएको उनको भनाइ छ।

कोरोना महामारीका बीच पनि सुपथ पसलहरूमा खाद्यसामग्री खरिद गर्नेको उपस्थिती बाक्लो छ। सुपथ पसलबाट विशेषगरी जापानिज चामलको बिक्री बढि भइरहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया