सिनेमा हलमा मुसाको रजाइँ, लाखौंको सिट नष्ट

admin

काठमाडौं, असोज २८ : झन्डै ७ महिनासम्म बन्द भएका सिनेमा हलमा लाखौं मूल्यका सिट मुसाले काटेर काम नलाग्ने पारिदिएको छ । हेटौंडाको ओम्याक्स र एनएस सिनेमा हलमा मुसाले सिट र कार्पेट नष्ट गरेर हैरान भएको सञ्चालकहरुको भनाइ छ ।

करोडांै लगानीमा स्थापना गरिएको हल बन्द हुँदा सञ्चालकलाई घाटा त परेको छ नै, त्यही हलबाट आफ्नो गुजारा चलाउँदै आएका मजदुरलाई समेत ठूलो असर परेको छ ।

हेटौंडा–४, नारायणी मलमा रहेको एनएस सिनेमा चैतदेखि बन्द छ । कोरोना महामारी फैलिएकै कारण बन्द रहेको हलमा हाल मुसाले दुःख दिन थालेको छ । हलभित्र उज्यालो हुन नपाएको र सुनसान रहेका कारण मुसाले त्यहाँ रजाइँ गर्न थालेको छ । हलका करिब ३५ देखि ४० वटा सिट मुसाले टोकेर काम नलाग्ने अवस्थामा पु¥याएको छ ।

हल सञ्चालक नवराज आचार्य भन्नुहुन्छ– ‘दुई ठाउँमा हल सञ्चालन हुँदै आएको थियो, जसमा अडियो वानमा एक सय ५० र अडियो टुमा दुई सय ५० सिट छन् । हाल ती सिट र कार्पेटमा मुसा लाग्न थालेपछि चिन्तित बनाएको छ ।’ प्रतिसिट करिब २० हजार मूल्य पर्ने उनले बताए । त्यहीअनुसार मुसाले सिट काट्दै जाने हो भने भौतिक संरचनामा मात्र लाखौं घाटा हुने आचार्यले गुनासो पोख्नुभयो ।

मकवानपुरे दर्शकको अर्को लोकप्रिय हल ओम्याक्सका सञ्चालक नरेन्द्र महर्जन भन्नुहुन्छ– ‘हलमा मुसाले दुःख दिइरहेको छ । करिब ३ सय सिट नै मुसाले नष्ट गर्ने हो कि भन्ने चिन्ता छ ।’ ‘कार्पेट र सिटमा मुसाको रजाइँ थामिनसक्नु छ।’ –उहाँ भन्नुहुन्छ ।

अब पनि सञ्चालन नभए फिल्म क्षेत्रदेखि सञ्चालकहरु उँभो लाग्न निकै समय लाग्ने निश्चित रहेको बताउनुहन्छ । स्वास्थ्य सुरक्षा मध्यनजर गर्दै अन्य क्षेत्रजस्तै हल सञ्चालनमा आओस्् भन्ने चाहना राख्ने सरोकारवाला पक्ष यतिबेला सरकारी निर्णयको पर्खाइमा छ । स्वास्थ्य सुरक्षा मापदण्ड तोकेर सञ्चालन अनुमति दिन उनीहरुले सरकारसँग अनुरोध गरेका छन् ।

हल सुरक्षित छ भन्ने सन्देश जानु जरुरी रहेको एनएस सञ्चालक आचार्यले बताउनुभयो । ‘अब पनि नखोले बैंकको किस्ता तिर्नुपर्ने हल सदाका लागि बन्द हुन बेर लाग्दैन । यसले कयौं जनशक्तिलाई थप मर्कामा पार्नेछ।’ –उहाँ भन्नुभयो । भन्नुहुन्छ– ‘विद्युत् महसुलमा जरिवाना देख्दा निकै नै दुःख लागेको छ ।’ यतिबेला आम्दानी छैन, त्यसमाथि विद्युत्ले कारबाहीसहित महसुल मागेको आचार्यले गुनासो गर्नुभयो ।

पुरानो हल ओम हल २०७५ साल साउनमा आगलागी भएको थियो । २०७६ वैशाखमा नयाँ प्रविधिसाथ हल पुनर्संञ्चालनमा आएको थियो । आगलागीबाट तीन करोड नोक्सान भएको थियो भने नयाँ प्रविधिसहित ल्याउँदा तीन करोडकै लगानीमा पुनर्संञ्चालनमा आएको सञ्चालक महर्जनले जानकारी गराउनुभयो ।

कोरोनाको कहरबीच सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा फिल्म क्षेत्रका समस्या सम्बोधन हुन सकेन । यस क्षेत्र कोरोनाबाट अतिप्रभावित क्षेत्रको सूचीमा पनि परेन । तर यस क्षेत्रका निर्देशक, कलाकार तथा हल सञ्चालकको पीडा भने बढ्दो छ ।

यतिबेला नेपालका चलचित्रप्रेमीहरुले ‘फन मिस’ गरेका छन् । रिफ्रेसमेन्टको माध्यम नै छैन । हलको वातावरण नपाए पनि घरमा टिभी हेरेर समय बिताइरहेका छन् उनीहरु । हुनत युट्युब नभएको हैन, तर युट्युबबाट घरमै फिल्म हेर्दा दर्शकलाई न क्वालिटीयुक्त लागेको छ, न त हलमा जस्तो आवाज नै दमदार ।

दर्शकहरु कोरोना हटेर फेरि भीडसाथ फिल्म हेर्न जाने दिनको प्रतीक्षामा छन् । ‘सेनिटाइज गरी, ज्वरो नापेर ४० प्रतिशतमात्र दर्शक राखेर सिनेमा हल खोल्न पाउने वातावरण भए हुन्थयो।’ –सिनेमा हल सञ्चालक भन्छन् । । आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया