सांसदको कैदीबन्दीलाई उपहार : खसी, माक्स र स्यानिटाइजर

admin

ओखलढुंगा : आइतबार बिहान कारागार कार्यालयमा प्रमुख जिल्ला अधिकारी, सिद्धिचरणका मेयर, सांसद तथा सुरक्षाकर्मी जम्मा भएका थिए। सांसदले लरक्क परेको खसी गाडीमा साथै लगेका थिए। माहोल अलिक फरक थियो। सांसदसँग गएका कार्यकर्ताहरुका हातमा स्यानिटाइजर र माक्सका पोका पनि साथै थिए।

यति देखेपछि कारागारका कैदीबन्दीले अनुमान गरिसकेका थिए कि सांसदले हामीलाई उपहार दिंदैछन्। उनीहरुले अनुमान गरे अनुसार नै सांसद यज्ञराज सुनुवारले कैदिबन्दीका लागि नाइकेलाई खसी हस्तान्तरण गरे। उनले २०७१ सालदेखि प्रत्येक वर्ष कैदीबन्दीलाई दशैंको अवसरमा भेटघाट गर्ने र खसी उपहार दिंदै आएका छन्।

यो पटक भने उनले खसीसँग मास्क तथा स्यानिटाइजर समेत दिए। कोरोना संक्रमणको जोखिम रहेकाले सुरक्षित भएर चाडबाड मान्न र सतर्कता अपनाउन आग्रह पनि गरे। खसी हस्तान्तरण गर्दै उनले भने, ‘कोही कानुनको अज्ञानता, कोही परिबन्द र कोही संगतले अपराधमा संलग्न भएर यहाँ आउनु भएको छ, परिवारबाट टाढा हुँदा चाडबाडमा नरमाइलो हुन सक्छ, जिल्लाको जनप्रतिनिधि भएको नाताले भेटघाट गरेर शुभकामना आदान प्रदान गर्न आएको हुँ।’

उपहार पाएर खुसी भएका कैदीबन्दीले सांसद सुनुवारसहितको टोलीलाई ढाकाटोपी उपहार दिएका छन्। कारागारको तर्फबाट नाइके नबराज बस्नेतले सांसदसहित सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठ प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेल, डिएस्पी रुपेश खड्कालगायतलाई टोपी उपहार दिएर विदाइ गरे। कैदीबन्दीसँग भेट गरेपछि सिद्धिचरणका मेयर श्रेष्ठले उपहारभन्दा पनि चाडबाडमा परिवारबाट टाढिएर बसेका व्यक्तिहरुसँगको भेटघाट, भलाकुसारी र सुखदुखका विषयमा हुने कुरा भावनात्मक भएको बताए।

कैदीबन्दीले सांसद मेयर तथा सुरक्षा निकायका प्रमुखहरु समक्ष बसोबास जीर्ण र साँगुरो भवनमा रहेकाले क्षमताभन्दा तेब्बर बढी कोचाकोचमा बस्नु परेको, खानेपानीको समस्या हुने गरेको र अदालती प्रकृया र सुनुवाइ लम्बिंदा समयमा न्याय पाउन नसकेको गुनासा गरेका थिए।

सांसद सुनुवारले पूर्वाधार निर्माणको प्रकृया अघि बढाउन पहल भइरहेको, न्याय निरुपणका विषयमा अदालती प्रकृया विद्यमान कानुनी व्यवस्थाले ढिलाइ हुने गरेको भए त्यसमा बोल्न नमिले पनि कानुनी साक्षरता तथा सहज पहुँचका लागि सरोकारवाला निकायमा छलफल गर्ने आश्वासन दिए। खसी उपहार पाएपछि कैदीबन्दी भने खुसी छन्।

प्रतिक्रिया