ओली सरकार फेर्नु प्रतिगमन निम्त्याउनु हो : नेकपा (मसाल)

admin

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले केपी ओली नेतृत्वको सरकारले निरन्तरता नपाए त्यसले प्रतिगमनलाई फाइदा पुग्ने ठहर गरेको छ । मसालका महामन्त्री मोहनविक्रम सिंहले मंगलबार विज्ञप्ति जारी गर्दै सत्तारुढ नेकपामा फुट भएमा वा यो सरकार विघटन भएमा त्यसको दुष्परिणाम लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतामाथि पर्ने र प्रतिगमनलाई फाइदा पुग्ने आफ्नो पार्टीको ठहर रहेको बताउनुभएको हो ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले गालीगलौजको भाषामा ओलीविरुद्ध प्रहार गर्दै पार्टी फोड्ने धम्की दिइरहेको बेला मसालले यस्तो धारणा सार्वजनिक गरेको हो ।

‘जुन तत्वहरुले गणतन्त्र वा धर्मनिरपेक्षतालाई खतम गर्न चाहन्छन्, उनीहरु नेकपाभित्र देखा परेको अन्तरसंघर्षबाट प्रसन्न नै भइरहेका छन् र उनीहरुले यो चाहन्छन् कि त्यो अन्तरसंघर्षको परिणामस्वरुप नेकपामा फुट होस् र त्यसको सरकारको विघटन होस्,’ विज्ञप्तिमा छ ।

मसालले जारी गरेको विज्ञप्तिका केही बुँदा यस्ता छन्-
२. नेपाल कम्युनिस्ट पार्टी(नेकपा)भित्र देखा परेको चरम प्रकारको अन्तरसंघर्षप्रति ने.क.पा.(मसाल)ले गम्भीर चिन्ता प्रकट गर्दछ ।

हाम्रो चिन्ताको विषय त्यसद्वारा, अर्थात् नेकपाको अन्तरसंघर्ष वा त्यसको परिणामस्वरुप देशको राजनीतिमा पर्न सक्ने सम्भावित असरप्रति नै हो । यदि नेकपाभित्रको अन्तरसंघर्षको परिणामस्वरुप नेकपामा फुट हुन्छ वा त्यसको सरकारको विघटन हुन्छ भने त्यसको दुष्परिणाम लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र राजनीतिक स्थिरतामा पनि पर्ने सम्भावना रहनेछ । त्यस्तो हुन नदिनका लागि हामीले लगातार नेकपाको एकता तथा सरकारको स्थायित्वमा जोड दिँदै आएका छौँ र अहिले पनि हाम्रो त्यो नीति कायम छ ।

३. जुन तत्वहरुले गणतन्त्र वा धर्मनिरपेक्षतालाई खतम गर्न चाहन्छन्, उनीहरु नेकपाभित्र देखा परेको अन्तरसंघर्षबाट प्रसन्न नै भइरहेका छन् र उनीहरुले यो चाहन्छन् कि त्यो अन्तरसंघर्षको परिणामस्वरुप नेकपामा फुट होस् र त्यसको सरकारको विघटन होस् ।

त्यो अवस्थामा यदि देश एक वा अर्को प्रकारले प्रतिगमनतिर जान्छ भने त्यसलाई उनीहरुले स्वागत नै गर्ने छन् र नेकपाको सरकारलाई अपदस्थ गराउन जोड दिनुका पछाडिको उनीहरुको मुख्य उद्देश्य पनि त्यही हो ।

४. तात्कालीन एमाले र माओवादी केन्द्रका बीचमा भएको पार्टी एकतालाई हामीले स्वागत गरेका थियौँ । त्यो बेला हामीले यो पनि स्पष्ट गरेका थियौँ कि त्यो एकता कम्युनिस्ट एकता थिएन र त्यो एकताद्वारा एकिकृत कम्युनिस्ट पार्टीको निर्माण पनि भएको थिएन ।

तैपनि चुनावका बेलामा उनीहरुका बीचमा भएको सहकार्य तथा संगठनात्मक एकताबाट प्रतिगमनमाथि विजय प्राप्त गर्न मदत पुगेको थियो । त्यसैले हामीले उनीहरुका बीचमा भएको चुनावी सहकार्य वा एकतालाई सकारात्मक रुपमा लिएका थियौँ र अहिले पनि त्यसलाई कायम राख्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।

प्रतिक्रिया