कोभिड-१९ विरुद्ध जनचेतना जगाउँदै ‘महजोडी’ (भिडियोसहित)

अस्मिता बेल्बासे

काठमाडौं, १६ मंसिर : कोभिड-१९ को विश्वव्यापी प्रभाव परिरहेको अवस्थामा नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्डले सागर उद्गमको परिकल्पना, लेखन तथा निर्देशन र प्रकाश सुवेदीको समन्वय र व्यवस्थापनमा महजोडीलाई समावेश गराई जनचेतनामूलक श्रव्यदृश्य सामग्री तयार पारी बोर्ड कै युट्युव च्यानल मार्फत सार्वजनिक गरेको छ ।

कोभिड-१९ को प्रभाव स्वदेशमा बस्ने नेपालीहरूको तुलनामा विदेशिएका नेपालीहरूमा बढी परेको छ । परदेशमा रहन नसक्ने र स्वदेशमा आउन नसक्ने अवस्थामा रहेका प्रवासी नेपालीहरूलाई आफ्नो घरमा आउँदा समेत डर मान्नु पर्ने अवस्था छ ।

विदेशबाट आउने नेपालीहरूलाई कोरोना बोकेर ल्यायो भन्ने लाञ्छनाले एयरपोर्टदेखि गाउँघरसम्म तिरस्कृत हुनुपरेका प्रशस्त उदाहरण छन् । संकृणता, अल्पज्ञान, मै जान्ने सुन्ने र व्यक्तिवादी स्वभावले समाजका व्यक्तिहरूको सामाजिक भावनामाथि नै तुषारापात परेको छ ।

आफ्नो परिवारको उज्ज्वल भविष्य मात्र नभइ राष्ट्रको अर्थ समृद्धिमा खम्बा बनेर रगत पसिना बगाईरहेका युवाहरू आफ्नै आँगनमा निषेधित छन् । आमाको न्यानो काखले उनीहरूलाई हार्दिकतापू्र्वक बोलाउन सकेको छैन । मान्छे शंकाको घेराभित्र जकडिएर आफैंभित्र कोभिड भन्दा पनि खतरनाक रोग पालिरहेको छ ।

विदेशमा काम र माम दुवै बन्द भएपछि उनीहरूलाई स्वदेश फर्कनुको कुनै विकल्प छैन । तर यहाँ पनि अवहेलना हुनुपरेपछि नेपाली कर्मठ हातहरू हीनताबोधले कुँजिएका छन् । यस्तो विकराल अवस्थामा कोभिड-१९ को बाहानामा कसैलाई पनि तिरस्कार गर्नुहुन्न ।

अप्ठेरोमा परेका र स्वदेशमा आउन चाहनेलाई हार्दिकतापूर्वक आफ्नै घरआँगनमा स्वागत सहित सुरक्षित व्यवस्थापन गर्नुपर्छ भन्ने सन्देश दिनका लागि विपत्तिलाई मिलेर सामना गरौं भन्ने उद्देश्य सहित यो जनचेतनामूलक श्रव्यदृश्य सामग्री तयार पारिएको हो ।

यस श्रव्यदृष्य सामग्रीमा वैदेशिक रोजगारीबाट फर्किएका प्रतिनीधिमूलक पात्र लोकेन्द्र लेखकमार्फत उनले विदेशमा र घरमा आउँदा भोग्नुपरेको सामाजिक र मनोवैज्ञानिक समस्यालाई दर्शाइएको छ जसमा कलाकार हरिवंश आचार्यले वडा अध्यक्षको रूपमा समाजका व्यक्तिहरूमाझ परामर्श दिएका छन् ।

मदनकृष्ण श्रेष्ठलाई कामदारको बुबा, सुष्मा निरौलालाई श्रीमती, सम्पदा सुवेदीलाई छोरीको रूपमा र अजित लामिछाने, राज श्रेष्ठ र यम गुरुङ्गलाई छिमेकीको रूपमा देख्न सकिने यस श्रव्यदृश्य सामग्रीको संक्षिप्त सन्देश कोभिडको वहानामा कसैलाई पनि हेयभावको दृष्टिबाट नहेरौं भन्ने रहेको छ ।

शिवराम श्रेष्ठको छायाङ्कन, निशान घिमिरेको सम्पादन, साहस शाक्यको पाश्र्व सङ्गीत, प्रकाश मिश्रको ध्वनि सम्पादन र सुशिला जोशीको श्रृङ्गार रहेको यस श्रव्यदृश्य सामग्री सभ्य सिर्जना प्रा.लि. को प्रस्तुति र व्यवस्थापनमा बनेको छ भने निर्माण, नियन्त्रणको अभिभारा सुवाश काफ्लेले निभाएका थिए ।

यो भिडियो हेर्नुस् ।

प्रतिक्रिया