किसानले उत्पादन गरेका वस्तु बजारको सुनिश्चितता सरकारले गर्छ : मन्त्री अर्याल

admin

काठमाडौं, १९ मंसिर : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले किसानले उत्पादन गरेका वस्तुको बजारको सुनिश्चितता सरकारले गर्ने बताएकी छिन् । शुक्रबार काठमाडौंमा केन्द्रीय सहकारी बजारको उद्घाटन गर्दै मन्त्री अर्यालले सहकारीको माध्यमबाट किसानले उत्पादन गरेका उत्पादनको बजार सुनिश्चितता गरिने बताएकी हुन् ।

सरकाले सहकारीको माध्यमबाट २६ वटा बजार निर्माण गर्ने अभियान चलाएकोले किसानको उत्पादनको बिक्री तिनै बिक्री केन्द्रबाट सुनिश्चित गरिने उनको भनाइ थियो । यस्तै किसानहरूले उत्पादन गरेका वस्तु बिक्री गर्न सहकारीहरूले आफै बजारको स्थापना गर्नुपर्नेमा उनले जोड दिइन् ।

यसबाट किसानले आफ्नो पसिनाको मूल्य नपाउने स्थितिको अन्त्य हुने पनि उनले बताइन् । अहिले बजार सरकारको नियन्त्रणमा नहुँदा किसानले लगानी उठाउन गाह्रो भएकोले बिचौलियालाई हटाउँदै, किसान, बजार र उपभोक्ताको दुरी कम गर्ने अभियान सुरु भइसकेको मन्त्री अर्यालले दाबी गरिन् ।

सहकारी बजारलाई आधुनिक र गुणस्तरीय बनाउँदै लैजान सहकारी बजारको आफ्नै कोल्ड स्टोर स्थापना गर्ने, विषादीको परीक्षण गर्न प्रविधिको व्यवस्था गरी उपभोक्तालाई स्वस्थ्य खाद्य वस्तु उपभोग गर्ने वातावरण निर्माण गरिने उनले बताइन् । सहकारी बजारको माध्यमबाट किसानलाई मुनाफाको अधिक अंश दिने व्यवस्था गरिने पनि उनले बताइन् ।

प्रतिक्रिया