राप्रपाका तीनै अध्यक्षको एकै स्वर : जनता आऊ, राजा ल्याऊ

admin

काठमाडौं, मंसिर २२ : राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुले मुलुकलाई जोगाउन राजसंस्था अपरिहार्य भएको बताएका छन्। पार्टीको झण्डोत्तोलन तथा चुनाव चिह्न अनावरण गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै नेताहरुले हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थालाई पुन:स्थापना गर्न सबै नागरिक उठनुपर्ने बेला आएको बताएका हुन्।

राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले पार्टीले राजसंस्था र हिन्दु राष्ट्र गरी दुई वटा विषयलाई मूल्य मान्यताको रुपमा स्थापित गरेको बताए। भने, ‘हाम्रो पार्टीले बोल्दै आएको दुई वटा मूल्य मान्यताको पक्षमा हिन्दु धर्म र मूलुक सञ्चालन गर्दा राष्ट्रपतिको ओहोदामा, राष्ट्रप्रमुखको ओहोदामा पुरानै संस्था जसले मुलुकलाई अभिभावकत्व दिन सक्छ त्यसलाई ल्याई पक्षपातीहरु राख्न हुन्न भन्ने मान्यताप्रति मुलुकभर आन्दोलन चलिरहेको छ।’

पार्टीका अर्का अध्यक्ष कमल थापाले राप्रपा हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको सिद्धान्तको मूल संवाहक भएको बताए। अहिले नागरिकस्तरबाट स्वस्फूर्त यो सिद्धान्तलाई लिएर आन्दोलन भइरहेकोप्रति खुसी लागेको बताए। राजसंस्था पुन:स्थापना गर्ने एजेण्डा कुनै व्यक्तिको स्वार्थसँग जोडिएको नभई देशको राष्ट्रिय अस्तित्व, स्वतन्त्रता र सार्वभौमिकतासँग गाँसिएको भएको थापाले बताए।

अहिले राजसंस्था पुन:स्थापनाका लागि निस्किएको प्रदर्शन जनताको भावनाको अभिव्यक्ति भएको पनि थापाले बताए। उनले थपे, ‘अब राजा आऊ देश बचाऊ भन्ने भन्दा पनि जनता आऊ राजा ल्याऊ, देश बचाऊ भन्ने बेला भएको छ।’अब सडकमा प्रदर्शन गरिरहेका साथीहरुलाई पनि राजा आऊ देश बचाऊ नभई जनता आऊ राजा ल्याऊ, देश बचाऊ भन्नुपर्ने बेला आएको उनले बताए। ‘राजाले आएर होइन, जनताले आएर राजा ल्याउनुपर्‍यो, अनि त्यसपछि जनता र राजा मिलेर देश बचाउनु पर्‍यो। यो हो अहिलेको समयको माग,’ उनले बताए।

अर्का अध्यक्ष डा प्रकाश चन्द्र लोहनीले पनि पार्टीले राजसंस्था र हिन्दु धर्मलाई पुन:स्थापना गर्ने स्पष्ट एजेण्डा लिएर बढेको बताए। उनले अहिले देशलाई जोगाउन संवैधानिक राजसंस्था आवश्यक रहेको पनि बताए। भने, ‘हाम्रा एजेण्डा स्पष्ट छन्। त्यसमा कुनै दुविधा छैन। हामीले भनेका छौं कि नेपालमा संवैधानिक राजसंस्था नेपालका लागि आवश्यक छ।’

कार्यक्रममा नेताहरुले केही समययता स्व:स्फूर्त हिन्दु राष्ट्र र राजसंस्था पुन:स्थापनाका लागि जनता सडकमा उत्रिएका र सबै राजनीतिक शक्तिले उत्सुकताका साथ हेरिराखेका बताएका छन्। यस्तै अन्तर्राष्ट्रिय समुदायले पनि उत्सुकताका साथ हेरिरहेकाले अब पार्टीले नेतृत्व गरेर आन्दोलनलाई निष्कर्षमा पुर्‍याउने बेला आएको नेताहरुले बताए।

प्रतिक्रिया