क्रिसमसपछि कोरोना भाइरसको अर्को लहर आउने विज्ञको चेतावनी

admin

एजेन्सी, २३ मंसिर : अमेरिकाका वरिष्ठ संक्रामक रोग विज्ञ डाक्टरले क्रिसमसपछि कोरोना भाइरसको अर्को लहर आउने चेतावनी दिएका छन् । वरिष्ठ संक्रामक रोग विज्ञ डा. एन्थोनी फाउचीले अमेरिकामा ‘थ्याङस्गिभिङ डे’ पछि कोरोनाको संक्रमण बढेकाले क्रिसमसपछि झन् बढ्ने चेतावनी दिएका छन् । उनले क्रिसमस र नयाँ वर्षको छुट्टीको समय थप चुनौतिपूर्ण बन्न सक्ने बताएका बीबीसीले जनाएको छ ।

समाचार संस्था सीएनएनसँग कुरा गर्दै उनले लामो बिदाको समय आउन लागेकाले परिस्थिति थप जटिल बन्न सक्ने बताएका हुन् । अमेरिकामा पछिल्लो समय कोरोना संक्रमितको संख्या औसतमा दैनिक दुई लाख पुग्ने क्रममा छ ।

कोरोना भाइरसका बिरामीले अस्पतालहरू भरिन थालेपछि अमेरिकाका दुई ठूला राज्यहरू क्यालिफोर्निया र न्युयोर्कले खराब जनस्वास्थ्य सङ्कटको चेतावनी दिएका छन् । न्युयोर्कका गभर्नर एन्ड्रिउ कुमोले त्यस्तो अवस्थासँग जुझ्न थप प्रतिबन्धहरू लगाउनुपर्ने बताएका छन् ।

यस्तै, क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युजोमले अस्पतालहरू खतराको तहमा भरिभराउ भइसकेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् । अहिले अमेरिकामा १ करोड ५३ लाखभन्दा धेरैलाई कोरोना संक्रमण भएको छ भने दुई लाख ९० हजार जनाभन्दा धेरैको ज्यान गएको छ ।

प्रतिक्रिया